गृहमन्त्रीको राजीनामाको मागबारे लचिलो होला माओवादी ? केहीबेरमा संसदीय दलको बैठक


काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र) गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट ब्याक हुने चर्चा चल्न थालेको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुमध्ये एकीकृत समाजवादीले गृहमन्त्री रमेश लेखकलाई सदनमा आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने भन्ने धारणा सार्वजनिक गरेपछि मुख्य विपक्षी दल माओवादी केन्द्र केही दबाबमा परेको छ ।

योबीचमा गृहमन्त्री लेखकले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले यो प्रकरणमा आफ्नो कहीँकतै संलग्नता नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सार्वजनिक रुपमै गृहमन्त्री लेखकको बचाउ गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सार्वजनिक रुपमा बरु यो विषयमा बोलेका छैनन् ।

तर, प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा भने गृहमन्त्री लेखकमाथि अनावश्यक लाञ्छना लगाईएको भन्ने देउवाको पनि टिप्पणी थियो। माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भोलिबाट बजेटमाथि सदनमा छलफल प्रारम्भ हुने भएपछि अहिले दलको बैठक बोलाएका छन् । बैठक १२ बजे बस्ने तय भएको छ । यो बैठकमा सदनको अवरोध खुलाउने विषयमा सत्ता पक्षबाट आएको प्रस्तावमाथि छलफल हुने बताईन्छ ।

यद्धपी प्रचण्डले गृहमन्त्रीको राजीनामा पार्टीको बटमलाईन भएकोले त्यसबाट दायाँबायाँ नहुने अडान दोहोर्याईरहेका छन् । पत्रकार ऋषि धमलासँगको विशेष अन्तर्वार्तामा समेत प्रचण्डले गृहमन्त्री लेखकले राजीनामा दिँदा नै उनको हाईट बढ्ने बताएका थिए ।