काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा बदमासी गरेको भनेर अहिलेसम्म एउटा पनि उजुरी नपरेको बताए । कांग्रेस, एमाले, माओवादी वा राष्ट्रिय स्वतन्त्र पार्टी जोसुकैले पनि एउटा मात्रै प्रमाण पेश गरेको खण्डमा गृहमन्त्रीले राजीनामा दिने उनको भनाइ छ । भिजिट भिसा प्रकरणमा कोही दोषी छन् र कसैले बदमासी गरेका छन् भने कारबाहीको दायरामा ल्याउनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको पनि उनले बताए ।
‘भिजिट भिसामा विदेश गएका मान्छेमध्ये कसैले वर्तमान गृहमन्त्री रमेश लेखकले हामीसँग पैसा खाएर वा उनको सचिवालयले पैसा खाएर हामीलाई विदेश पठाउन मद्दत गरे भनेर एउटामात्रै उजुरी आयो भने अनिमात्र गृहमन्त्रीको बारेमा प्रश्न उठ्ने हो । होइन भने भिजिट भिसा भन्नेवित्तिकै लौ यो त मानव तस्करी ? यस्तो पनि हो र ? दुनियाँका अमेरिकनहरु यहाँ भिजिट भिसा लिएर आउने हो । लाखौं लाख मान्छे गएका छन्, सबै मानव तस्करीमा परेका होइनन्,’– उनले भने ।
साथै, अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराई अहिले थुनामा पनि नरहेको र उनले प्रमाण लोप गराउन सक्छन् भनेर गृहमन्त्री रमेश लेखक आफैंले भट्टराईलाई त्यहाँबाट हटाएको उनको दाबी छ । मातहतको कर्मचारीले गल्ती गर्दा मन्त्रीले राजीनामा दिनुपर्ने भाष्य गलत हुने उनले बताए । अधिवक्तासमेत रहेका पोखरेलले भिजिट भिसामा लाखौं लाख मान्छे विदेश गइरहेको र ती सबैलाई मानव तस्करीको भाष्य बनाउन खोजिएको उनले बताए ।
‘तीर्थराजा भट्टराई अहिले थुनामा पनि हुनु्हुन्न । उहाँले कुनै प्रमाण लोप गर्न नसकुन् भनेर गृहमन्त्रीले अहिले त्यहाँबाट हटाउनुभएको छ । मालपोतको एउटा सुब्बा अथवा कर्मचारीले कमजोरी गर्नेबित्तिकै भूमि सुधारमन्त्रीले राजीनामा दिनुपर्ने एउटा भाष्य निर्माण गर्ने हो भने ठीक छ गरौं । होइन भने मन्त्रीसँग सम्बन्धित एउटा पनि लाखौं मान्छे वा एक जनाले भन्नु पर्यो,’– उनले भने ।
गृहमन्त्रीले भिजिट भिसा नदिने, भिजिट भिसालाई अध्यागमनले पनि नरोक्ने उनले बताए । भिजिट भिसा प्रकरणमा वर्तमान सरकार जोडिने गरी एउटा पनि प्रमाण नरहेको उनको दाबी छ ।




प्रतिक्रिया