रमेश लेखकले आफ्नो राजनीतिक भविष्य जोगाउनको लागि पनि गृहमन्त्रीबाट राजीनामा दिनुपर्छः माओवादी नेता तामाङ


काठमाडौं १९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गृहमन्त्री रमेश लेखक अहिले सबैभन्दा बढी बदनाम रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले व्यक्तिगत रुपमा गृहमन्त्री लेखकलको नियत खराब हो कि होइन भन्ने कुरा अनुसन्धानपछि थाहा हुने भएकाले अहिले राजीनामा अपरिहार्य शर्त रहेको बताए । अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईले गृहमन्त्रालयको सचिवालयलाई जोडेर बयान दिएकाले गृहमन्त्री लेखकले त्यसको नैतिक दायित्व लिनुपर्ने उनको भनाइ छ । अध्यागमनमा गृहमन्त्रीले सबैभन्दा राम्रो, योग्य र विश्वास गरेको मान्छे पठाउने प्रचलन गरहेको पनि उनले सुनाए । भट्टराई शंकास्पद गतिविधिमा संलग्न र विगत पनि राम्रो रहेको नेता तामाङको दाबी छ ।

‘गृहमन्त्री अहिले सबैभन्दा बढी बदनाम हुनुभएको छ । मानव तस्करमा जसरी उहाँ मुछिनुभएको छ । व्यक्तिगत रुपमा उहाँको नियतमा कमजोरी छ कि छैन, त्यो अनुसन्धानपछि थाहा हुने कुरा हो । उहाँको मातहतमा रहेको महत्वपूर्ण निकाय, जसमा राष्ट्रियताको प्रश्नसमेत जोडिएको हुन्छ । अध्यागमन विभागमा राज्यको कर्मचारी पठाउँदा गृहमन्त्रीले सबैभन्दा राम्रो, योग्य र उहाँले विश्वास गरेको मान्छे पठाउने प्रचलन छ । तर, अहिले जो मान्छे भट्टराईजी अख्तियारको गिरफ्तारीमा पर्नुभएको छ ।’ उनले भने, ‘उहाँ गृहमन्त्री भएपछि त्यहाँ खटाउनुभयो । जहाँ राम्रो मान्छे उठाउनुपर्ने, तर उहाँले विगतदेखि नै शंकास्पद गतिविधिमा संलग्न, भ्रष्टाचारमा मुछिएका मान्छे पठाउनुभएको रहेछ । त्यही मान्छे गिरफ्तारीमा पर्दा उहाँ आफैंले दिनको ५० लाखभन्दा बढी पैसा मैले माथि बुझाउनुपर्छ भन्नुभयो रे । उहाँभन्दा माथि जहाँ भए पनि आफ्नो मन्त्रालय मातहतमा अनिमितता भइरहेको छ । नैतिकताको हिसाबले पनि उहाँले राजीनामा दिनुपर्छ ।’

साथै, गृहमन्त्री र उनको सचिवालयबाट हामी यसरी ठगियौं भन्ने कुनै जानकारी र उजुरी परेको भने आफूलाई थाहा नरहेको नेता तामाङले बताए । तर, मुद्दा परेपछि मात्रै राजीनामा दिने भन्ने कुरा राम्रो नरहेको, शेरबहादुर तामाङले बोलेकै विषयमा राजीनामा दिएको उनले स्मरण गराए । जनार्दन शर्मा अर्थमन्त्री हुँदाखेरी प्रश्न उठेपछि राजीनामा दिएको पनि उनले स्मरण गराए । रमेश लेखकले आफ्नो राजनीतिक भविष्य जोगाउनको लागि पनि गृहमन्त्रीबाट राजीनामा दिँदा उपयुक्त हुने उनको भनाइ छ ।

‘उहाँजस्तो मान्छेले आफ्नो राजनीतिक भविष्य जोगाउनको लागि पनि र देशमा व्यवस्थाप्रति अनास्था र अविश्वास फैलिइहेको छ । लोकतन्त्रमा कोही कसै विरुद्ध यस्तो आवाज उठिसकेपछि राजीनामा दिनुपर्छ । नैतिकताको बोध चाहिँ अहिलेका नेताहरुले पनि गर्दारहेछन् भन्ने सन्देश दिनको लागि पनि उहाँले राजीनामा दिनुपर्छ,’– उनले भने ।