गण्डकीका मुख्यमन्त्री पाण्डेको स्वार्थमा राइड शेयरिङसम्बन्धि कानून ल्याइएको महासचिव सिटौलाको आरोप (भिडिओसहित)


काठमाडौं, १९ जेठ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सम्बन्धी ऐनमा मुख्यमन्त्री सुरेन्द्र पाण्डको स्वार्थ जोडिएको आरोप लगाएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गण्डकी प्रदेश सरकारले ल्याएको उक्त ऐन किमार्थ स्वीकार्य नरहेको र मुख्यमन्त्री पाण्डेको दम्भ धेरै दिन नटिक्ने बताए । रातो प्लेटका सवारी साधनले पनि सार्वजनिक यातायातलेझैं यात्रु् बोक्न पाउने गरी ल्याइएको ऐन संघीय ऐनसँग बाँझिने दाबी गरे । उक्त ऐनको विरोधमा आज देशभर सार्वजनिक यातायात ठप्प बनाइएको छ ।

‘जनतालाई दुःख भएको छ । त्यसको क्षमा याचना पनि गर्छु । तर, यो सबै दुःखको जिम्मा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र मन्त्रिपरिषद्ले गरेको आन्दोलनको विजारोपण हो । उहाँको जुन किसिमको दम्भ छ, समयले देखाउँछ । जुन किसिमको ऐन, संघीय ऐनसँग बाँझिने रातो प्लेटको सवारी साधनलाई ट्याक्सीको सरह, माइक्रोको सरह यात्रु बोक्न दिनेगरी ऐन ल्याउनु भएको छ । त्यो खेदजनक छ । त्यसो गर्न कुनै हालतले दिनेछैनौं । म चुनौतिको साथ भन्न चाहन्छु– देशभरी कुनै अप्रिय घटना भएमा त्यसको जिम्मा उहाँले लिनुपर्छ,’– उनले भने ।