कांग्रेस-एमालेसहितको गठबन्धन सरकारप्रति चिनियाँ पक्षले खुसी व्यक्त गर्याे: मन्त्री भण्डारी


काठमाडौं, १९ जेठ । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कांग्रेस–एमालेसहितको गठबन्धनप्रति चिनियाँ सरकार सकारात्मक रहेको र खुसी व्यक्त गरेको बताएका छन् । आज (सोमबार) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसहितको टोली चीनको १० दिने भ्रमण सकाएर स्वदेश फिर्ता भएको छ । नेपाल सरकारको तर्फबाट पूर्व राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा सहभागी भएका मन्त्री भण्डारीले दुई ठूला दल सम्मिलित कांग्रेस–एमालेसहितको स्थायी सरकारले मात्रै आजको अभिभार पूरा हुनसक्ने कुरामा चिनियाँ पक्षको धारणा रहेको बताए ।

‘चिनियाँ पक्षबाट अहिले राजनीतिक स्थायित्वको लागि प्रमुख दुईवटा दल सम्मिलित सरकारले पूर्णता पाओस्, राजनीतिक स्थायित्व होस्, राजनीतिक स्थायित्वबाट आजको अभिभारा पूरा गर्न सकिन्छ । त्यसमा चिनियाँ पक्षको तर्फबाट खुसी व्यक्त भएको छ । अरु विषय राजनीतिक सम्बन्धलाई निरन्तरता राख्ने, सम्बन्ध विकसित गर्ने कुरा भएको छ । त्यो भन्दा बाहेकको अतिरिक्त विषय चाहीँ त्यहाँ भएको छैन,’– उनले भने ।

साथै, मन्त्री भण्डारीले भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुद बनाएको बताए । उनले विकास र दुई पक्षीय हितसँग जोडिएका कतिपय सन्दर्भहरुलाई आफूहरुले विभिन्न फोरमहरुमा स्पष्टताको साथमा राखेको पनि बताए । समग्रमा भ्रमण फलदायी र उपलब्धीमूलक रहेको मन्त्री भण्डारीले बताए ।