सहकारीको समस्या समाधान भएन, बचतकर्ता हेरेको हेर्यै भएः सूर्य थापा


काठमाडौं, १९ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको सम्बन्धमा संसदीय छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयन नभएको बताएका छन् । आज (सोमबार) प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बाफिया विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सहकारीको सन्दर्भमा नेपाल राष्ट्र बैंकले दिएको सुझावसमेत कार्यान्वयन नभएको बताए ।

नेता थापाले लघुवित्त पीडितहरुको सन्दर्भमा गठन भएको समितिले दिएको प्रतिवेदनको निष्कर्ष र सुझावहरु पनि कार्यान्वयन नभएको बताए । एक जना व्यक्तिले २४ वटासम्म लघुवित्तबाट ऋण लिएको पाइएको बताए ।

‘सहकारी क्षेत्रका समस्याहरु समाधान भएनन् । भएका छैनन्, कानुन आएपनि भएका छैनन् । लघुवित्तको छुट्टै अध्यायन गरियो । त्यो अध्ययनले के भन्यो भने २४ वटासम्म लघुवित्तले एक जना ऋण प्रवाह गरेको दृष्टान्त पनि रहे । त्यो प्रतिवेदन डा.प्रकाश श्रेष्ठको प्रतिवेदन हो । त्यसका पनि निष्कर्षहरु र सुझावहरु कार्यान्वयन भएका छैनन्् । सहकारीको पनि भएको छैन । सहकारीको त मैले संसद्मा पनि भनेको थिए, प्रतिवेदनमा पनि छ, जे प्रतिवेदन दिइएको हो, त्यो कार्यान्वयन भएन,’– उनले भने ।

निश्चित पूर्व शर्तसहित कारबारहीको प्रक्रियामा थुनामा रहेका बचत फिर्ताको योजनासहित जवाफदेही बनाउनुपर्ने उनले बताए । राष्ट्र बैंकले बाणिज्य बैंकदेखि सहकारीसम्म समग्रमा हेर्नुपर्ने उनको सुझाव छ । सहकारी सञ्चालकलाई थुनामा राखेर समस्याको समाधान हुन नसक्ने उनको धारणा थियो ।

‘सहकारी सञ्चालकहरुलाई विभिन्न रुपमा कारागार, हिरासत, पुर्पक्ष, थुना, के-के कैदमा राखिएको छ । सहकारीमा ताला लगाइएको छ । राष्ट्र बैंकको पनि सुझाव त्यही थियो, डेडिकेटेड टिम पठाएर बैंकिङ्ग क्षेत्रमा जे समस्या आउँछन्, त्यस्तै समाधानको मोडालिटीमा जानुपर्छ । ऋण नउठाउने, सम्पत्तिको व्यवस्थापन नगर्ने, ऋणीहरु बचतकर्ताजस्तो भएर आन्दोलनमा जाने, बचतकर्ता हेरेको हेर्यै हुने खालको स्थिति छ,’– उनले भने ।