राजावादी भन्नेहरुको चेतनाको स्तर देख्दा साँच्चै दया लागेर आउँछः प्रधानमन्त्री ओली


काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी भन्नेहरुको चेतनाको स्तर देख्दा दया लागेर आउने गरेको बताएका छन् । आज (सोमबार) पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालमा ६८ लाख परिवार रहेकोमा एउटा परिवारले सबैमाथि शासन गर्न पाउनुपर्छ भन्नु मानसिक दरिद्रता रहेको बताए । उनले विश्वको सबैभन्दा विकसित देश र सबैभन्दा धेरै जनसंख्या भएको देशमा समेत निर्वाचित जनप्रतिनिधिहरुले सत्ता सञ्चालन गरिरहेको बताए । विश्वको केही देशहरुमा साँच्चिकै सेरेमोनियल बनेको कारण राजुसंस्था टिकिरहेको बताए ।

‘नेपालमा ६८ लाख परिवार छन् । त्यसमध्ये एउटा परिवारले सबैमाथि शासन गर्न पाउनुपर्छ भन्नु मानसिक दरिद्रता देखेर पनि विचित्रै लाग्छ । कस्तो मानसिक दरिद्रता होला ? स्कुल गएका, क्याम्पस गएका, विश्व देखेका, विश्वका समाचार सुनेका, ठूला–ठूला देशहरु निर्वाचित जनप्रतिनिधिहरुले चलाएका देखेकै छन् । सबैभन्दा ठूलो जनसंख्या भएको चीन निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । उत्तिकै जनंख्या भएको भारत निर्वाचित जनप्रतिनिधिले चलाइएका छन् । यति विकसित अरमेरिक निर्वाचित जनप्रतिनिधिले चलाएका छन् । केही देशमा राजतन्त्र सम्झौता गरेर साँच्चै शेरेमोलियल भएर टिकेको छ । राजातन्त्रको माग लिएर कुदेका छन् । यिनको चेतनाको स्तर देख्दा दया लागेर आउँछ । साँच्चै दया लाग्छ । कुन जमानामा छन् यिनीहरु ?’ प्रश्न गर्दै उनले भने ।

उनले राजावादी समूहरुलाई अराजकतावादी र असन्तुलनवादीको संज्ञा दिए । यिनीहरुले अहिलले वितण्डा मच्चाइरहेको बताए । उनले नेकपा (माओवादी केन्द्र) ले अराजकतालाई संगठित गर्ने प्रयास गरिरहेको टिप्पणी गरे । श्रीलङ्का र बंगलादेश बनाइदिन्छौं भन्ने गरेको सुनाउँदै भने, ‘श्रीलङ्काको कुरा गर्छन् । अहिले पनि श्रीलङ्का बनाइदिन्छु भन्नेहरु छन् केही । श्रीलङ्का बनाएर के भयो त ?’ प्रश्न गर्दै उनले भने, ‘श्रीलङ्का बनाउनेहरु के भए त ? केही न केही । उपद्रव मच्चाए, तोडफोड गरे, आगजनी गरे, अशिष्टता, अमर्यादता देखाए, समाज अलि समय भाँडे । फेरि फर्केर चुनावमा आए । त्यही कुरा त गर्नुपर्ने रहेछ पिन । त्यसैबाट जाँदा भइहाल्यो नि त । बंगलादेशको कुरा गर्छन् । बंगलादेशको अराजकताको अर्को कुनै विकल्प छ र ? फेरि पनि अराजकतामा फर्किनु त हो । अर्को कुनै विकल्प छ र ?’