कांग्रेस-एमाले दुवैको खोजीमा प्रचण्ड, देउवासँग फोन सम्वाद, ओलीसँग बोल्नै चाहेनन्


काठमाडौं, १९ चैत । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सदनको अवरोध हटाउने विषयमा कु्राकानी गर्न चाहँदा सम्पर्क हुन नसकेको बताएका छन् । आज (सोमबार) एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आफूले प्रचण्डलाई धेरैतिरबाट खोजी गर्दा पनि सम्पर्क हुन नसकेको बताएका हुन् ।

‘भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजे । हामी लिडरहरुको बीचमा अलिकति छलफल पनि गरौं भनेर, उहाँ सम्पर्कमा आउन चाहिरनु भएको छैन । उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नु भएको छैन,’– उनले भने ।

त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भने फोन सम्वाद भएको छ । माओवादी केन्द्रसहित विपक्षी दलहरु गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरोधको अवस्थामा रहेकै बेलामा देउवा र दाहालबीच फोन सम्वाद भएको हो ।

दुई नेताबीच सदनको अवरोध खुलाउने विषयमा कुराकानी भएको उच्च स्रोतले बतायो । यसअघि दुई नेताबीच दाहाल देउवाको गृहजिल्ला पुग्दा फोनसम्वाद भएको थियो । माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएर संसद् अवरोध जारी राखेको छ ।

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन सुचारु हुन नदिने उसको अडान आजको मितिसम्म कायमै छ । प्रचण्डले देउवासँगको फोन सम्वादमा सकारात्मक रहेको जानकारी गराएको स्रोतले बतायो । ‘सभापतिज्यू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छोटो फोन सम्वाद भएको थियो । सदनमा जारी अवरोधको बारेमा छलफल भयो । सदन अवरोध खुलाउन सभापतिज्यूले गर्नुभएको आग्रहलाई प्रचण्डले म सकारात्मक छु, आज हाम्रो संसदीय दलको बैठक बसेर निर्णय लिन्छौं भन्नु भएको छ,’– नाम उल्लेख नगर्ने शर्तमा देउवानिकट स्रोतले भन्यो । File Photo/RN