गण्डकी सरकारलाई राइड शेयरिङसम्बन्धी कानून बनाउने अधिकार छ, यातायात व्यवसायीहरुले बन्द गरेर गलत गरिरहेका छन्ः मन्त्री दाहाल


काठमाडौं, २० जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य भइसकेको बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यातायात व्यवसायमा अहिले कुनै पनि प्रकारको एकाधिकार नरहेको बताएका हुन् । मन्त्री दाहालले गण्डकी प्रदेश सरकारलाई राइड शेयरिङसम्बन्धी कानून बनाउने अधिकार रहेको बताए । यसमा केन्द्रले हस्तक्षेप गर्न नहुने र हस्तक्षेप पनि नगरिने बताएका हुन् ।

‘राईड शेयरिङसम्बन्धी कानून बनाउने उहाँहरुको अधिकार हो । उहाँहरुले कानून बनाउन सक्नुहुन्छ । उहाँहरुको अधिकारको विषयलाई हामीले हस्तक्षेप गर्ने विषय होइन । तर, पनि मुलुकमा यातायात व्यवसायीलगायत सबैलाई हेरेर छलफल मात्रै हो । केन्द्रको सरकारले भन्नेबित्तिकै सबै काम गर्नुपर्छ भन्ने पनि छैन । तर, अब यातायात व्यवसायीहरुसँग भएको सहमतिलाई हेर्ने हो भने उहाँहरुसँग हामीले अरु पनि कतिपय सहमति गरेका छौं । यातायात सञ्चालनको लागि सहमति गर्नुपर्यो । त्यसलाई घुँडा टेकेको भन्नु भएन नि,’– उनले भने ।

उनले यातायात व्यवसायीहरुले बन्द गर्नु गलत रहेको बताए । यातायात नै बन्द गरेर जनतालाई सास्ती दिएर यातायात व्यवसायीहरुले आन्दोलनको गलत तरिका अपनाइरहेको उनको दाबी छ । ‘त्यो उहाँहरुको गलत तरिका हो । किनभने गण्डकी प्रदेशसँग सम्बन्धित विषय हो । गण्डकी सरकरासँग पनि त उहाँहरुले डाइलग गर्नुपर्यो नि त । यो नेपाल सरकारले भनेको त गण्डकी प्रदेश सरकारलाई अनुरोध गर्ने हो,’– उनले भने । File Photo