गण्डकीका मुख्यमन्त्री पाण्डेले यातायात क्षेत्रमा डढेलो लगाउन खोज्नुभयो, हामी पनि घुँडा टेकाएरै छाड्छौंः सरोज सिटौला


काठमाडौं, २० चैत । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १३ खर्ब लगानी भएको यातायात क्षेत्रलाई विस्थापित गर्नेगरी गण्डकी प्रदेश सरकारले राइड शेयरिङसम्बन्धी नियमावली ल्याएको बताएका छन् । यातायात क्षेत्रमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ४५ लाखले रोजगारी पाइरहेको उनको दाबी छ । यस्तो क्षेत्रलाई विस्तापित गर्ने नियोजित तरिकाबाट गण्डकी सरकारले राइड शेयरिङ कानून ल्याएको बताए ।

‘रातो प्लेटको गाडीलाई पनि यात्रुवाहक सवारी साधन, कालो प्लेट सोसरह यात्रु बोकेर जान दिनेगरी जो नियमावली मन्त्रिपरिषद्बाट ल्याउनुभयो । त्यहाँबाट दुर्भाग्य सुरु भएको छ । नेपालको सार्वजनिक यातायात क्षेत्रको १०८ वर्षदेखि सेवा दिइरहेको छ,’– उनले भने ।

अहिले यातायात बन्द गराएर आन्दोलनमा होमिनु आफूहरुको बाध्यात्मक परिस्थिति रहेको उनले बताए । आफूहरुले सरकारले यो गलत भयो भनेर पटक–पटक भन्दा पनि सरकारले सुन्न नचाहेको र अहिले १६ गतेदेखि गण्डकीमा शान्तिपूर्ण बन्द गरेर आन्दोलन अगाडि बढाइरहे्को उनले बताए । अहिले आन्दोलनमा विभिन्न ८ वटा घटकहरु संलग्न रहेको दाबी गरे । उनीहरुको कुरा सुन्ने कि नसुन्ने भन्ने विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

नेपालको सार्वजनिक यातायातलाई समाप्त पार्ने नियतले डढेलो लगाउने काम मुख्यमन्त्री सुरेन्द्र पाण्डेबाट भएको उनले बताए । जनताको लागि बनेको मुख्यमन्त्रीले नै १६ लाख मजदुरहरुलाई प्रताडित बनाएर गलत गरेको बताए ।