सरकारमा आवद्ध दलहरुले यातायात बन्द गर्न लगाएर जनतालाई दुःख दिएः सांसद सुवाल


काठमाडौं, २० जेठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सरकारमा गएकै पार्टीहरुले सार्वजनिक यातायात बन्द गर्न लगाएर जनतालाई दुःख दिएको बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो बन्द कसले गराएको हो भन्ने जनताले बझ्नै नसकेको बताए । यातायात व्यवसायीको संगठन र मजदुरहरुको संगठनमा चुनाव हुँदा दलका नेताहरु गएर यसलाई उठाउने र जिताउने भन्ने हुने गरेको उनले सुनाए । सरकारमा सहभागी भएका दलहरुकै नेता तथा कार्यकर्ताले अहिले बन्द गराइरहेको उनको दाबी छ ।

यातायात व्यवसायीले जनतालाई स्पष्ट नभन्दा अहिले जनताले नै दुःख ब्यहोर्नुपरेको उनले बताए । अब यो बन्द कसले गरेको हो भन्ने जनताले बुझ्न आवश्यक रहेको उनले बताए ।‘जनतालाई स्पष्ट भन्नुभयो राजनीतिबारे । स्पष्ट नआउँदा जनतालाई दुःख भयो । अब जनताले बुझ्नुपर्यो । जनता पनि सचेत हुनुपर्यो । यो त मजदुर संगठन, यातायात व्यवसायीले गरेको भन्ठान्छन् । त्यो होइन । यो सरकारमा गएकै पार्टीहरुले गर्न लगाएको हो,’– उनले भने ।

सार्वजनिक यातायात बन्द हुनुमा सरकार दोषी रहेको उनको दाबी छ । आफ्नै दलका संगठनलाई पनि सरकारमा आवद्ध दलहरुले अनुसशासनको दायरामा राख्न नसकेको उनले बताए । ‘यातायात व्यवसायी र मजदुरहरु त सरकारकै पार्टीका संगठन हुन् नि । आफ्नो कार्यकर्तालाई अनुशासनमा राख्न सकेन । सरकारले यो स्थिति आउन नदिन अगाडि नै कोसिस गर्नुपर्ने हो, त्यो भएन । यातायात व्यवसायी र मजुदुरहरुको नेता सरकारमा रहेका पार्टीहरु नै हुन् भने भित्रभित्रै छलफल गर्ने हो । होइन पार्टी र यातायात मजदुरहरुको अलग संगठन हो हामी सरकारको कुरा मान्दैनौं भन्ने हो भने त्यो स्पष्टसँग भन्नुपर्यो,’– उनले भने ।