डेनमार्कका राजदूत क्रिस्टेनद्वारा रासस फोटो प्रदर्शनी अवलोकन


काठमाडौँ, २० जेठ । नेपाल भ्रमणमा रहेका नेपालका लागि डेनमार्कका गैरआवासीय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले आज राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयको भ्रमण गरी राससद्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अभिरुचिपूर्वक अवलोकन गरे । साथै, रासस मिडिया सङ्ग्रहालय तथा रासस मिडिया सङ्ग्रहालयको अवलोकन गरेर रासस सेवाबारे जानकारी लिएका हुन् ।

राजदूत क्रिस्टेनलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वागत गर्दै प्रदर्शित तस्बिरहरूको सङ्क्षिप्त रूपमा जानकारी गरेका थिए । उनले रासस मिडिया सङ्ग्रहालय र राससको समाचार सेवाबारे अवगत गराउनाका साथै राजदूत क्रिस्टेनलाई राससद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रका १६ वर्ष’ हस्तान्तरण गरे ।

सो अवसरमा नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेल पनि सहभागी थिए ।

आफ्नो नेपालको पहिलो भ्रमणका क्रममा राससको फोटो प्रदर्शनीले नेपालको पर्वतीय पर्यटनको सम्बन्धमा राम्रो जानकारी लिने अवसर प्राप्त भएको उल्लेख गर्दै राजदूत क्रिस्टेनले पर्वतीय पर्यटनको माध्यमबाट विश्वमा नेपालले आफ्नो अलग्गै पहिचान स्थापित गर्नसक्ने बताए । गणतन्त्र दिवस २०८२ को सन्दर्भमा राससले केन्द्रीय कार्यालयमा यही जेठ ११ गतेदेखि फोटो प्रदर्शनी आयोजना गर्दै आएको छ ।