सरकारसँगको सहमति कार्यान्वयन नगरेर यातायात व्यवसायीले जनतालाई दुःख दिए, यो गलत भयोः कांग्रेस सहमहामन्त्री परियार


काठमाडौं, २० जेठ । नेपाली कांग्रेसका सह–महामन्त्री जीवन परियारले सरकार र यातायात व्यवसायीबीच सहमति भइसक्दा पनि यातायात नचल्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संवाद गर्दै उनले समझदारी कार्यान्वयन भएन भने फेरि आन्दोलनमा आउन र अहिले भने भएको समझदारीअनुरुप सार्वजनिक यातायात सञ्चालन गर्न उनले आग्रह गरे । सरकारसँग भएको सहमति कार्यान्वयन नगरेर जनतालाई दुःख दिने काम भइरहेको उनको आरोप छ ।

‘सरकार र यातायात व्यवसायीको बीचमा जुनखालको समझदारी बनेको छ । समझदारी भइसकेपछि यातायात नचल्नु दुभाग्यपूर्ण कुरा हो । समझदारी कार्यान्वयन भएन भने फेरि आन्दोलन गरे भइहाल्छ । यत्रो जनतालाई दुःख दिने काम गरिरहनुभएको छ । यो आफैंमा दुःखद् छ । त्यसैले म आग्रह गर्न चाहन्छु कि यातायात व्यवसायीले सहमतिलाई कार्यान्वयन गर्नुपर्छ र यातायात सुचारु गर्नुपर्छ,’– उनले भने ।

यातायात व्यवसायीहरुले सरकारसँग भएको सहमति कार्यान्वयन नगरेर गलत गरिरहेको उनको भनाइ छ । ‘काुनन सबैले मान्नुपर्छ । कतिपय विमति होला । सहमति भएको छ भने यातायात सुचारु नगर्नु गलत हो,’– उनले भने ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङसम्बन्धि कानूनको सन्दर्भमा बहस, छलफल र संवाद गर्न सकिने बताउँदै उनले अहिलेृ यातायात व्यवसायीहरुले संघीय सरकारसँग गरेको सहमतिको आधारमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने बताए । ‘गण्डकी प्रदेश सरकारले जुनखालको कानून बनाएको छ, त्यसको बारेमा बहसको विषय हुनसक्छ । यसलाई कसरी लैजाने, के गर्ने, कस्तो खालको कानून आवश्यक थियो भन्ने बारेमा छलफल हुनसक्छ । यो विषयमा संघीय सरकारको बीचमा समझदारी बनेको छ । त्यसलाई टेकेर अगाडि बढ्नु अहिले उपयुक्त हो,’– उनले भने ।