काठमाडौं, २० चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसा प्रकरणको गहिरोसँग अनुसन्धान हुनुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यो प्रकरण लामो समयदेखि चर्चामा आएकाले जो मुछिएपनि छानविन हुनुपर्ने बताएका हुन् । ‘चर्चामा आएअनुसार, अनुसन्धानको क्रममा सुनिएअनुसार यो अलि लामो समयदेखि नै भइआएको थियो । त्यसैले भिजिट भिसा प्रकरणको सन्दर्भमा गहिरोगरी अनुसन्धान हुनुपर्छ । त्यसमा कर्मचारी होलान्, मन्त्री या नेता जो भए पनि यसलाई गहन अनुसन्धान गरेर जानुपर्छ,’– उनले भने ।
अनुसन्धान गर्दैगर्दा निश्चित उजुरीको आधारमा, सार्वजनिक रुपमा चर्चा परिचर्चा भएको आधारमा मन्त्रीउपर अनुसन्धान भइरहेको छ भने स्वभाविक रुपमा मन्त्रीले पद त्याग गर्नुपर्ने उनले बताए । अख्तियारले गरिरहेको अनुसन्धान मन्त्रालयका कर्मचारीमाथि भइरहेकाले जोमाथि अनुसन्धान भइरहेको हो, उ मात्रै जिम्मेवार हुने महामन्त्री शर्माले बताए । ‘जोमाथि अनुसन्धान भइरहेको छ, अनुसन्धान सबैभन्दा बढी केन्द्रीत त्यही गर्नुपर्छ । अनुसन्धानको लहरो गृहमन्त्रीको टेबलमा पुग्छ भने स्वभाविक छ, त्यसबेलामा पद छोड्नुपर्छ । अन्यथा विश्वप्रकाशमाथि उजुरी पर्ने तपाईँमाथि छानविन हुने हुँदैन,’– उनले भने ।
उनले अघिल्लो गृहमन्त्री (रवि लामिछाने) सँगको कुरालाई गाँसेर संसदमा आवेग प्रकट हुन खोजेको बताएका छन् । अघिल्लो पटक (रवि लामिछानेको पालामा) भन्दा अहिलेको कुरा निकै फरक रहेको उनले बताए । महामन्त्री शर्माले त्यतिबेला गृहमन्त्री लामिछानेको नाममा पोखरामा पुरक उजुरी परेको भएकाले आफूहरुले राजीनामा माग गरेको पनि उनले बताए । अहिलेका गृहमन्त्री लेखकको नाममा कहीकतै पनि उजुरी नपरेको उनले बताए ।
लामिछानेको पालामा नेपाल सरकारको गृहमन्त्रालय र गृहमन्त्रीअन्तर्गत पर्ने निकायले अनुसन्धान गरिरहेको भएर पनि उनको राजीनामा मागिएको उनले बताए । अहिले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गृह मन्त्रालयअन्तर्गत नपर्ने उनले बताए । उनले भिजिट भिसा प्रकरणको गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा जोडिने सबै जना अनुसन्धानको दायरामा आउनुपर्ने उनले बताए ।
‘मेरो यतिमात्रै टिप्पणी छ । जो व्यक्तिमाथि उजुरी परेको छ, त्यो उजुरीलाई गहिरो अनुसन्धान गर्नुपर्यो । अनु्सन्धान गर्ने क्रममा लहरो तान्दा पहरो जान्छ भने त वर्तमान गृहमन्त्रीजी, यदि त्योभन्दा अगाडिका गृहमन्त्री पर्नुहुन्छ भने प्रधानमन्त्रीसम्म पुग्छ भने पनि कानुनको दायरामा आउनुपर्छ,’– उनले भने । File Photo/RN




प्रतिक्रिया