गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको जवाफ दिन पाउनुपर्छः महेश बर्तौला


काठमाडौं, २० जेठ । नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री रमेश लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ संसद्मा आएर दिन पाउनुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि पहिला रमेश लेखकले सदनमा जवाफ दिन पाउनुपर्ने र त्यसपछि प्रतिपक्षको मागको बारेमा छलफल गर्न सकिने बताए । आज सहमतिमै भोलि दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरिएको उनले बताए ।

‘गृहमन्त्रीमाथि प्रश्न उठ्यो । जवाफ दिन तयार हुनुहुन्छ । संसद्मा आउनुभएको छ । जवाफ दिने वातावारण बनाऔं भनेर हामीले उहाँहरु (प्रतिपक्षी) सँग भन्यौं । त्यसपछि उहाँहरुको मुद्दामा दोस्रो चरणमा छलफल हुन्छ कसरी अगाडि बढ्ने ? त्यसमा पनि उहाँहरु तयार हुनुभएन । राजीनामा, यदि राजीनामा होइन भने छानविन समिति बनाउनुपर्यो भन्नुभयो,’– उनले भने, ‘प्रश्न उठेका मन्त्रीले जवाफ दिने कुरालाई स्वभाविक रुपले वातावरण बनाउनुपर्छ । छानविन समितिको कुरा होला, राजीनामाको कुरा होला । अन्य राजनीतिक विषय होला । त्यो उहाँहरुले गर्नुहोला । यसमा कुनै प्रश्न छैन । न्युनतम्् रुपमा गृहमन्त्रीले बोल्न पाउने कुरा हाम्रो आग्रह हो ।’

नेता बर्ताैलाले गृहमन्त्री लेखक आफूमाथि उठेका प्रश्नको जवाफ दिनका लागि तयार रहेको पनि बताए । उनले पहिलो चरणको प्रक्रिया नै पूरा नभइ प्रतिपक्षको माग सम्बोधन हुन नसक्ने र गृहमन्त्री लेखकको राजीनामा पनि नआउने उनले बताए ।