अख्तियारले अनुसन्धान गरिरहेको भिजिट भिसा प्रकरण ‘टेकओभर’ गरेर छुट्टै समिति बनाउन मिल्दैनः कांग्रेस नेता घिमिरे


काठमाडौं, २० चैत । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भिजिट भिसा प्रकरण टेकओभर गरेर छुट्टै समिति बनाइ अनुसन्धान गर्न नमिल्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अख्यितारले हेरिरहेको मुद्दा समितिमा ल्याएर हेरिनु संवैधानिक र कानूनी रुपले सही नहुने बताएका हुन् । यो कुरालाई प्रतिपक्षी दलहरुले मनन् गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

‘नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीको जोड यो कुरामा छ । उहाँहरु विस्तारै यो कुराबाट पनि ब्याक हुनुहुन्छ । अर्थात् यो कृुरालाई महसुस गर्नुहुनेछ । भोलिका दिनमा एउटा संवैधानिक अंगले हेरिराखेको केस, उसले टेकओभर गरिसकेको केसलाई अर्को समिति बनाउन कानूनी रुपले पनि मिल्दैन, संवैधानिक रुपले पनि मिल्दैन भन्ने कुरा उहाँहरुले पनि महशुस गर्नुपर्छ,’– उनले भने ।

भिजिट भिसा प्रकरणमा अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए । पक्राउ परेका भट्टराईले आफूले भिजिट भिसामा विदेश जानेहरुबाट उठाएको रकमबाट ५० लाख रुपैयाँ दैनिक रुपमा माथि बुझाउने गरेको बयान दिएको स्रोतको दाबी छ । माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरुले सो प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर निष्पक्ष छानविनका लागि सघाउनुपर्ने माग गर्दै आएका छन् । File Photo/RN