काठमाडौं, २० जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणमा आफूहरुको लडाईँ जारी रहेको बताएका छन् । आज (मंगलबार) माओवादी केन्द्रले आजदेखि सुरू गरेको काठमाडौं उपत्यका केन्द्रीत नेवा र तामसालिङ जागरण अभियान उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सबै प्रतिपक्षीलाई एकतावद्ध बनाएर भिजिट भिसा प्रकरणको सत्यतथ्य छानविनका लागि दवाब दिइरहेको बताएका हुन् ।
प्रतिपक्षी दल सबैलाई एकतावद्ध बनाएर भिजिट भिसा प्रकरणमा सरकारको धारणा सोधेपछि आजको संसद् बैठक स्थगित भएको उनले बताए । प्रचण्डले यस प्रकरणलाई निष्कर्षमा पुर्याएर छाडिने बताए ।
‘अहिले भिजिट भिसा प्रकरणमा जे देखिएको छ, त्यसको बारेमा पनि हामीले प्रतिपक्षलाई समेटेर त्यसलाई पनि परिणाममा पुर्याउने हाम्रो कोशिस भइराखेको छ । आज उनीहरुले जबर्जस्ती गर्न खोजेका थिए । हामीले छानविन गर्ने कुरा मुख्य हो र सरकारको धारणा के छ भनेर भन्ने कुरा राखिसकेपछि आजको सदन स्थगित भयो । त्यहाँ पनि हाम्रो लडाइँ जारी छ,’– उनले भने ।
माओवादी केन्द्रसहित प्रतिपक्षीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय समितिको माग गरिरहेका छन् । साथै, उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामासमेत माग गरेका छन् । प्रतिपक्षीले संसद् सुचारु हुन गृहमन्त्रीले राजीनामा दिनुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट समिति गठन हुने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउँदै आएका छन् ।




प्रतिक्रिया