काठमाडौं, २१ चैत । नेपाल प्रहरीकी प्रहरी नायव निरीक्षक एवं सगरमाथा आरोही कुञ्जाङ छोपेल शेर्पाले सामान्य मृत्युवरण गर्न नपरोस् भन्ने सानै बेलादेखिको सोचले सफलता मिलेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफू मरेर गए पनि आफ्नो नाम सुन्दाखेरी मान्छेलाई प्रेरणा मिलोस् भन्ने सानैदेखिको सोच र इतिहास रच्ने मनले सगरमाथाको सफल आरोहण सम्भव भएको बताएकी हुन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला प्रहरीरी बनेकी छन् ।
‘मेरो संघर्षको कथा लामो छ । पक्कै पनि शेर्पा भएपछि हिमालसँग जोडिइहाल्छ । मलाई पहिलादेखि नै लाग्थ्यो– सामान्य मृत्युबरण कहिले पनि गर्न नपरोस् । म मरेर गए पनि मेरो नाम सुन्दाखेरी अरु कोही मान्छेले प्रेरणा पाओस् जस्तो लाग्थ्यो । मे महिना आएपछि शेर्पाको नाममा धेरै रेकर्डहरु आउँथ्यो सगरमाथाको नाममा,’ उनले भनिन्,‘मलाई पनि आफ्नो नाम इतिहासमा राच्ने मन थियो । तर, कसरी ? इतिहास सबैमा रेकर्ड राखिसक्नुभयो । सानो उमेरमा चढेर, माथि पुगेर विहे गरेर सबैमा रेकर्ड भइसक्यो । अनि मैले के गर्ने त भन्ने थियो । जब म प्रहरीमा आवद्ध भएँ–त्यसपछाडि मलाई फिल भयो । मैले रिसर्च गरेँ । अहिलेसम्म महिला प्रहरी छैन रहेछन् । त्यही भएर मैले गरेँ यो ।’
आफूले सगरमाथा आरोहण अर्को वर्ष चाहेको भएपनि सकारात्मक इगोको कारण यही वर्ष सम्भव भएको उनले सुनाईन् । भिआईपी ट्रेनिङको क्रममा खिचिएको फोटो सामाजिक सञ्जालमा राखेको कारण विभागीय कारबाहीमा परेपछि कारबाहीको लागि सिफारिस भएको उनले सुनाईन् । ‘मैले व्यक्तिगत फोटो हाल्दा कारबाहीको लागि सिफारिस हुन्छु भने नेपाल प्रहरीको अफिसियल पेजबाट फोटो आउने बन्छु’ भन्ने अठोट लिएको उनले सुनाईन् ।
‘मैले एउटा इगो लिएँ– मेरो व्यक्तिगत प्रोफाइलबाट फोटो हाल्दा कारबाहीको लागि सिफारिस हुन्छु भने म नेपाल पुलिसको अफिसिएल पेजबाट फोटो आउन लायक बन्छु । जसले चाहीँ मलाई कारबाहीको लागि सिफारिस गरेर हस्ताक्षर गर्ने हात मेरै लागि गर्वले ताली बजाउने बनाउँछु भन्ने इख लिएर मैले स्पष्टीकरण सकिएलगत्तै सगरमाथा आरोहणका लागि स्वीकृति पाउँ भनेर निवेदन दिएँ,’– उनले सुनाईन् ।




प्रतिक्रिया