केपी ओलीलाई राम भनिएको छ भने म उहाँको हनुमान होः एमाले नेता थापा (भिडिओसहित)


काठमाडौं, २१ चैत । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपा (माओवादी केन्द्र) का केही विषाक्त दिमाग भएका र आफूलाई नयाँ हुँ भनेर अनुहार देखाउन पनि लायक नरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताले गालीगलौज गरिरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यिनै पात्रहरुले फेक आईडी बनाएर सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको र नानाभाती गालीगलौज गरेको आरोप लगाएका हुन् । उनले रास्वपाले एक जनालाई एक सय वटा सीमकार्ड दिएर फेक आईडी बनाएर प्रधानमन्त्रीविरुद्ध तलबमै काम गरिरहेको बताए ।

‘माओवादीका विषाक्त दिमाग भएका केही केटाहरु छन् त्यसो (भ्रष्टाचारी) भन्ने । राष्टिय स्वतन्त्र पार्टीका पुराना जति खराब। हामीमात्रै सही हौं भन्ने अनुहार देखाउन लायक नरहेका व्यक्तिहरु छन् । गालीगलौजमा आफ्नो राजनीति निर्वाह गरिरहेका व्यक्तिहरु । अहिले गालीगलौजका सबैभन्दा धेरै व्यक्तिहरु यिनै त हुन्,’– उनले भने ।

उनले आफूलाई बेला–बेलामा केपी शर्मा ओलीको हनुमान भनिएकोमा उनले स्वीकार गरे । उनले जनताले ओलीलाई राम मानेको र आफू उनको हनुमान रहेको उनले बताए । सिद्धान्त, विचार, नीति र नेतृत्वको पक्षमा बफादारिता र समर्पणका हिसाबले आफू नेतृत्व (केपी शर्मा ओली) को हनुमान नै रहेको बताए । ‘केपी शर्मा ओलीलाई राम भनिएको छ भने ठीक छ म उहाँको हनुमान हो । उहाँ राम हो म हनुमान हो । के बिग्रियो त । म सिद्धान्त, विचार, नीति र नेतृत्वको पक्षमा बफादारिता र समर्पणका हिसाबले म हुनमानजत्तिकै छु,’– उनले भने ।