३० वर्षसम्म पटक-पटक असफल भएका नेतासँग आश गर्नु नै नेपालीहरुको दुर्भाग्य होः राजनीतिक विश्लेषक दाहाल (भिडिओसहित)


काठमाडौं, २२ जेठ । लेखक एवं राजनीतिक विश्लेषक केशव दाहालले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको सरकारले कुनै पनि काम गर्न नसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै वर्तमान गठबन्धनले समस्याको समाधान गर्छ भनेर नागरिकहरुले सोचे पनि यसले गाँठो फुकाउनै नसकेको बताए । पटक–पटक असफल भएका मान्छेहरु निरन्तर सत्तामा रहिरहनु नै नेपालीहरुको दुर्भाग्य रहेको उनले बताए ।

‘जो मान्छे पटक–पटक ३० वर्षदेखि असफल छ । जो मान्छे अनेकौं पटक परीक्षामा बसेर फेल भयो । जो मान्छेले अहिलेसम्म नागरिकको जीवन बदल्नका लागि आर्थिक सामाजिक रुपमा कुनै योजनाहरु ल्याउन सकेन । त्यही मान्छे अहिलेसम्म सत्तामा छ । हामी त्यसैमा आश गरेर बसेका छौं । हाम्रो दुर्भाग्य नै त्यही हो,’– उनले भने ।

साथै, उनले राज्य दलतन्त्रको शिकार भएको पनि उनले बताए । संविधानमा कतिपय असन्तुष्टिहरु रहेको र त्यसलाई समाधान गर्न भनेर दुई ठूला दलको सरकार बनेपनि त्यो अपेक्षा पूरा नभएको विश्लेषक दाहालले बताए । कांग्रेस–एमाले गठबन्धन सरकारको १०÷११ महिनाको समीक्षा गर्ने हो भने यसले कुनै पनि काम गर्न नसकेको उनले बताए ।

‘राज्य दलतन्त्रको शिकार भयो । संविधानमा कतिपय असन्तुष्टिहरु छन् । त्यो यथावत रह्यो । लोकतन्त्रको स्वामित्व कमजोर हुँदै गयो । यी दुई दल मिलेर त्यसको गाँठो फुकाउँछन् भन्ने थियो । तर, तपाईँ हामीले १०÷११ महिनालाई फर्केर हेर्यौं भने त्यो कुनै पनि कुरामा यो गठबन्धनले काम गर्न सकेन,’– उनले भने ।