काठमाडौं, २२ चैत । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भिजिट भिसा प्रकरणमा छुट्टै समिति बनाएर छानविन गर्न आवश्यक नरहेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भिजिट भिसा प्रकरणको जो–जतिलाई छानविन गर्नुपर्ने छ, सबै अख्तियारलाई जिम्मा दिनुपर्ने बताए । भिजिट भिसा प्रकरणका अहिले कुनै पनि हालतमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआउने उनले बताए ।
‘राजीनामा कुनै शर्तमा आउँदैन । के कारणले राजीनामा दिनुपर्यो ? भ्रष्टाचार ठहरिनुपर्यो, उहाँको विषयमा छानविन हुनुपर्यो । कर्मचारीले गल्ती गर्नेबित्तिकै मन्त्रीहरुले राजीनामा दिएभने त भोलि सबै मन्त्री राजीनामा दिँदै हिँड्दै गर्छ छ । उहाँको विषयमा न निवेदन परेको छ, न अहिले छानविन भएको छ ?’ प्रश्न गर्दै उनले भने ।
उनले विपक्षी दलहरुलाई संसद् खुल्ने वातावरण बनाएर जनताको आवाज राख्न दिनुपर्ने बताए । अख्तियार संवैधानिक अंग भएको कारण जोसुकैमाथि प्रश्न उठेपनि उसले कारबाही अगाडि बढाउन सक्ने नेता चौधरीले बताए ।
‘छानविन समितिको कुनै अर्थ नै भएन । अख्तियारले छानविन गरिराखेको छ । अख्तियार भनेको त हाम्रो संवैधानिक अंग हो । अख्तियारले छानविन गर्दैगर्दा के –को लागि छानविन आयोग ? त्यो मिल्दैन, कुन समिति बनाउने, के–को लागि बनाउने ? अख्तियारले गरिरहेको छानविन हामी पनि गर्ने ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया