नेविसंघ इकाईले मनायो विश्व वातावरण दिवस, त्रि-चन्द्र हाताभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोगविरुद्ध आवाज


काठमाडौं, २२ जेठ । नेपाल विद्यार्थी संघ त्रि–चन्द्र बहुमुखी क्याम्पस इकाईले आज विशेष कार्यक्रमको आयोजना गरी प्लास्टिक प्रदूषणविरुद्ध सचेतना फैलाउने र दबाब सिर्जना गर्ने अभियान सञ्चालन गरेको छ। जुन ५ (जेठ २२) का दिन विश्वभर विविध कार्यक्रमहरूका साथ मनाइने विश्व वातावरण दिवस यसवर्ष “Beat the Plastic Pollution” भन्ने मुख्य नाराका साथ नेपालमा पनि व्यापक रूपमा मनाइँदैछ।

नेविसंघ त्रि–चन्द्र इकाई अध्यक्ष अमृत बहादुर शाहीको नेतृत्वमा क्याम्पसमा अध्ययनरत सयौं विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा प्लास्टिकजन्य सामग्रीको प्रयोगका विरुद्ध आवाज उठाइएको छ। कार्यक्रममा क्याम्पस प्रमुखलाई औपचारिक रूपमा ध्यानाकर्षणपत्र समेत बुझाईदै क्याम्पसभित्र र बाहिर प्लास्टिकको प्रयोगमा कडाइ ल्याउन माग गरिएको छ।

कार्यक्रम अन्तर्गत क्याम्पस परिसर सरसफाइ, सचेतनामूलक प्लेकार्ड प्रदर्शन, विद्यार्थी समुहद्वारा संवाद र प्रतिबद्धता अभिव्यक्तजस्ता विविध गतिविधिहरू सम्पन्न गरिएको अध्यक्ष शाहीले जानकारी दिए । उनले भनेका छन्,‘आजको दिन हामी सबैले व्यक्तिगत जीवनशैलीमा परिवर्तन गर्दै वातावरणीय उत्तरदायित्व बहन गर्ने प्रण गरेका छौं। नेविसंघ त्रि-चन्द्र इकाई सधैं शिक्षण संस्था मात्र नभइ सामाजिक, वातावरणीय र राष्ट्रिय सरोकारमा समेत सक्रिय रहने प्रतिबद्धताका साथ अघि बढिरहेको छ।’