गृहमन्त्री लेखकलाई राजीनामा नगर्न दवाब


काठमाडौं, २२ चैत । भिजिट भिसा प्रकरण सतहमा आएपछि गृहमन्त्री रमेश लेखक पनि आलोचित भएका छन् । अध्यागमन विभागका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएपछि उनले आफूले दैनिक ५० लाख रुपैयाँ माथिल्लो निकायलाई बुझाउने गरेको बताएका थिए । गृहमन्त्री लेखकले आफू मातहतको कर्मचारीले यसरी माथिल्लो निकाय (मन्त्रालय) लाई जोडेर बयान दिएपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रतिपक्षी दलहरुको माग छ ।

प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर सदन अवरोध गरिरहेका छन् । प्रतिपक्षीले सदन अवरोध गर्दा विधेयकहरुमाथिको छलफल, बजेटमाथिको छलफललगायतका विषयहरु प्रभावित भएका छन् । गृहमन्त्री लेखक मूलतः शालिन व्यक्तित्वको रुपमा चिनिन्छन् । तर, प्रतिपक्षीहरुको विरोधका बावजुद पनि उनले राजीनामा दिइरहेका छैनन् ।

लेखकले पदबाट राजीनामा दिँदैगर्दा कसलाई गृहमन्त्री बनाउने भन्ने कुरा निश्चित हुन नसक्दा पार्टीले पनि उनलाई दवाब नदिएको स्रोतको दाबी छ । तर, कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ भने गृहमन्त्री लेखकले पदबाट राजीनामा दिन चाहेको बताउँछन् । गहृमन्त्री लेखकले पदबाट राजीनामा दिन चाहे पनि पार्टीभित्रै र पार्टी बाहिर (सत्तामा रहेको एमाले) बाट उनलाई राजीनामा नदिन दवाब रहेको नेता बजगाईँले सुनाए । गृहमन्त्रीलाई राजीनामा गर्नबाट रोकेर थप उनीमाथि थप अन्याय गरिएको सांसद बजगाईँको दाबी छ ।

‘राजनीतिमा नैतिकता भन्ने ठाउँ भएको हिसाबले भनेको हो मैले । मलाई विश्वास छ, उहाँ निर्दोष हुनुहुन्छ, हुनुहोस् । तर, पनि त्यही डिपार्टमेन्टको फोर्टफुलियो भएको भएर नि, त्यहीँ अनुसन्धानकर्ता हुने भएको भएर अलि अप्ठ्यारो हुन्छ भन्ने हो । उहाँलाई राजीनामा गरौं भन्ने इच्छा प्रष्टसँग देखिन्छ । उहाँलाई चाहिँ राजीनामा गर्ने वातावरण नबनाएर उहाँमाथि आज थप अन्याय भएको जस्तो लाग्छ,’– संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता बजगाईँले भने, ‘ मलाई लाग्दैन–पार्टीमात्रै त्यसमा सम्मिलित छ । राजीनामा नगर्नुस् भन्ने दवाब ठूलो छ कि जस्तो लाग्छ । उहाँको मनमा चाहिँ राजीनामा गरौं कि भन्ने छ भन्ने बाहिर आएको छ । यदि त्यो सत्य हो भने उहाँ झन समस्यामा पर्नुभयो ।’ File Photo/RN