काठमाडौं, २२ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा.मिनेन्द्र रिजालले जलवायु परिवर्तनले हाम्रा हिमशृङ्खला जोखिममा परेको बताएका छन् । १८औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले जलवायु परिवर्तनको असर हिमशृङ्खलामा परेको औँल्याए । उनले हिमालको समृद्ध देशको रुपमा रहेको नेपाल जलवायु परिवर्तनको असरले हिउँ पग्लिने र हिमतालले फुट्ने खतरा रहेको बताए ।
‘जलवायु परिवर्तनका कारण हिमशृङ्खला जोखिममा छन् । हिमताल फुट्ने जोखिम बढेर गएको छ । यी विषयलाई बढी उजागर गर्नुपर्ने आवश्यकता छ, हिउँ पग्लिएर कालो चट्टानको रुपमा मात्र देखिन्छ । यसलाई गम्भीर भएर सोच्नुपर्छ,’– उनले भने ।
राससको तस्बिर प्रदर्शनीले नेपालका पहमशृङ्खलालाई राम्रोसँग नियाल्न पाएकोमा उनले खुसी व्यक्त गरे । उनले भने, ‘नेपालमा सुन्दर हिमशृङ्खलाहरु छन् । सबैजना एकपटक पुग्नुपर्छ । हिमाल हाम्रो छानो नै हो । तस्बिरले हिमालको सुन्दरतालाई देखाउने प्रयास गरेको छ ।’
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता रिजाललाई स्वागत गर्दै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनलेप्रदर्शनीमा राखिएका तस्बिरले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न तस्बिरले सहयोग पुर्याएको उल्लेख गरे ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।




प्रतिक्रिया