काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनभित्र प्रतिशोधपूर्ण युद्ध चलिरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सम्मानित नेता खनालले माधव नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियारले मुद्दा चलाएको विषयलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् । उनले यो विषय कम्युनिष्ट आन्दोलनभित्र प्रतिशोधपूर्ण युद्धको परिणाम हुनसक्ने बताए ।
नेता खनालले पार्टी अध्यक्ष नेपाल पतञ्जली जग्गा प्रकरणमा निर्दोष रहेको र यस विषयमा उनलाई अदालतले न्याय दिन्छ भन्नेमा आफूहरुलाई विश्वास रहेको बताए । उनले आफूहरुले यस विषयमा अलि संयमताको साथ हेर्ने बताए । उनले अदालतले माधव नेपाललाई सो मुद्दामा सफाइ दिनुपर्ने बताए ।
‘यसमा हामीले अलिकति संयम र धैर्यताको साथ हेर्नुपर्ने भएको छ । भुलचुक केही भएका रहेछन् भने पनि त्या अदालतले प्रमाणित गर्ला नै । मेरोचाहिँ के विश्वास छ भन्नुहुन्छ भने अदालतले यी सबै कुराहरुको अध्ययन गर्ने विश्लेषण गर्ने उहाँलाई सफाइ दिनुपर्छ होला भन्ने नै मैले सोचिरहेको छु,’– उनले भने ।
यस विषयमा न्यायलयको निर्णयको प्रतिक्षामा बस्नुको विकल्प नरहेको उनले बताए । सम्मानित नेता खनालले माधव नेपालबाट त्यो प्रकारको त्रुटी भयो होला भनेर अहिले आफूहरुले कल्पना पनि गर्न सक्ने अवस्था नरहेको बताए । नेता खनालले पार्टी अध्यक्ष नेपालमाथि लागेको मुद्दाको एकजुट भएर सामना गर्ने र ‘तथ्यहरुको आधारमा सत्य पत्ता लागोस्’ भन्ने पक्षमा रहेको बताए । आग्रह, पूर्वाग्रह र प्रतिशोधको आधारमा कुनै पनि कारबाही नहोस् भन्ने एकीकृत समाजवादीको चाहना रहेको उनले बताए ।




प्रतिक्रिया