भ्रष्टाचार मुद्दा लागेसँगै अध्यक्ष नेपालमाथि नैतिकताको प्रश्न खडा भएको झलनाथको टिप्पणी, पार्टी नेतृत्वबारे विचार गर्न सुझाव


काठमाडौं, २३ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालमाथि नैतिकताको प्रश्न खडा भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सम्मानित नेता खनालले माधव नेपालविरुद्ध पतञ्जली योगपीठको जग्गा प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको विषयलाई लिएर यस्तो प्रतिक्रिया दिएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । भ्रष्टाचार मुद्दा दायर भएसँग माधव नेपालको सांसद पद निलम्बनमा परेको छ । पार्टी नेतृत्वबाट पनि उनी बाहिर बस्ने कि नबस्ने भन्ने नैतिकताको प्र्रश्नसमेत खडा भएको सम्मानित नेता खनालले बताए ।

‘त्यो उहाँ आफैंले गर्ने निर्णय हो । पार्टीभित्र हामी बसेर छलफल गर्छौं । त्यसमा केही समस्या हुँदैन । यो परिस्थितिले जे आवश्यकता सिर्जना गर्छ, त्यो आवश्यकता बमोजिम निर्णय गरेर पार्टी अगाडि बढ्छ ।’ उनले भने, ‘यो नैतिकताको प्रश्न हो भन्ने मलाई लाग्छ । नैतिकताको प्र्र्रश्नको जवाफ सम्बन्धित व्यक्तिबाटै आउनुपर्छ । पार्टीले भन्ने बेग्लै कुरा हो ।’

नेता खनालले नेपाली कम्युनिष्ट आन्दोलनभित्र प्रतिशोधपूर्ण युद्ध चलिरहेको बताए । पार्टी अध्यक्ष्न नेपालविरुद्ध दायर भएको भ्रष्टाचार मद्दाकम्युनिष्ट आन्दोलनभित्र प्रतिशोधपूर्ण युद्धको परिणाम हुनसक्ने उनको शंका पनि छ ।

नेता खनालले पार्टी अध्यक्ष नेपाल पतञ्जली जग्गा प्रकरणमा निर्दोष रहेको र यस विषयमा उनलाई अदालतले न्याय दिन्छ भन्नेमा आफूहरुलाई विश्वास रहेको बताए । उनले आफूहरुले यस विषयमा अलि संयमताको साथ हेर्ने बताए । उनले अदालतले माधव नेपाललाई सो मुद्दामा सफाइ दिनुपर्ने बताए ।

‘यसमा हामीले अलिकति संयम र धैर्यताको साथ हेर्नुपर्ने भएको छ । भुलचुक केही भएका रहेछन् भने पनि त्या अदालतले प्रमाणित गर्ला नै । मेरोचाहिँ के विश्वास छ भन्नुहुन्छ भने अदालतले यी सबै कुराहरुको अध्ययन गर्ने विश्लेषण गर्ने उहाँलाई सफाइ दिनुपर्छ होला भन्ने नै मैले सोचिरहेको छु,’– उनले भने ।

यस विषयमा न्यायलयको निर्णयको प्रतिक्षामा बस्नुको विकल्प नरहेको उनले बताए । सम्मानित नेता खनालले माधव नेपालबाट त्यो प्रकारको त्रुटी भयो होला भनेर अहिले आफूहरुले कल्पना पनि गर्न सक्ने अवस्था नरहेको बताए । नेता खनालले पार्टी अध्यक्ष नेपालमाथि लागेको मुद्दाको एकजुट भएर सामना गर्ने र ‘तथ्यहरुको आधारमा सत्य पत्ता लागोस्’ भन्ने पक्षमा रहेको बताए । आग्रह, पूर्वाग्रह र प्रतिशोधको आधारमा कुनै पनि कारबाही नहोस् भन्ने एकीकृत समाजवादीको चाहना रहेको उनले बताए ।