लामिछाने र नेपालविरुद्ध प्रतिशोध साँधियो, जनताले राम्रो मानिरहेका छैनन्ः माओवादी सचिव शर्मा


काठमाडौं, २४ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले गृहमन्त्री रमेश लेखकले प्रश्न उठिसकेपछि आफ्नो बारेमा छानविन गर्न र सफाइ लिनका लागि मार्ग प्रशस्त गर्न आवश्यक रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कका नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादीको संसद् बन्द गर्ने मनशाय नरहेको बताए ।

उनले सरकार र प्रतिपक्षबीच सहमति गरेर संसद सुचारु गर्नुपर्ने बताए । ‘सरकार र प्रतिपक्षको बीचमा राम्रो सहमतिको वातावरण बनाएर संसद् चलाएर जाँदा नै उपयुक्त हुन्छ भन्ने लाग्छ हामीलाई,’– उनले भने ।

उनले तत्कालीन गृहमन्त्री रवि लामिछानेको बारेमा प्रश्न उठ्दा आफूहरुले पनि संसदीय समिति बनाउनुपर्ने र सफाइ पेश गर्ने मौका दिनुपर्ने भनेको र सोही संस्कारको विकास गरेको उनले बताए । अहिले गृहमन्त्रीको बारेमा प्रश्न उठेको उनले बताए । उनले गृहमन्त्री लेखकसँग राम्रो सम्बन्ध रहेको स्मरण गराउँदै उनले प्रश्न उठेपछि त्यसलाई छानविन गर्ने अवसर दिनुपर्ने बताए ।

साथै, उनले सबै भ्रष्टाचारका मुद्दाहरु राजनीतिक आग्रह र पूर्वाग्रहबाट अनुसन्धानमा ल्याइएको छ । उनले माधव नेपाल र रवि लामिछानेको बारेमा यथार्थ लुकाएर प्रतिशोध साँधिएको उनको धारणा छ ।

‘सबै भ्रष्टाचारका मुद्दाहरु जो छन्, कुनै पनि राजनीतिक आग्रह, पूर्वाग्रहबाट प्रेरित भएर होइन । यहाँ त के हुने गरेको छ भने कसैलाई केही गर्न पर्यो भने राजनीतिक आग्रह र पूर्वाग्रहका आधारमा कसैलाई फसाउने, प्रतिशोध साँध्ने प्रकारको गतिविधिहरु हुनथाले । यही रमेश लेखककै बारेमा पनि अथवा माधव नेपालकै बारेमा पनि अब यथार्थ कुरा कहाँ छ, कहाँबाट कहाँ लुकाइएको छ, कहाँ के भइराखेको छ ? रविकै बारेमा पनि गतिविधि भइराखेको छ । नेपाली जनताले त्यतिराम्रो मानिराखेका छैनन् । यो प्रतिशोधात्मक गतिविधिहरु भए, स्वच्छ, निष्पक्ष र न्यायपूर्ण तरिकाले भएन,’– उनले भने ।