काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सरकार प्रतिशोधको भावनामा हिँडिरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन् । भ्रष्टाचार अन्त्यको लागि सरकार निर्मम हुनुपर्ने उनको भनाई छ ।
उनले सरकारलाई भ्रष्टाचार रोक्नको लागि कसले रोकेको छ ? भन्दै प्रश्न गरे । अब कांग्रेसले सुशासनको लागि नेतृत्व लिनुपर्ने बताए । कोइरालाले आजपनि सत्ता र सरकार दुवै बेग्लाबेग्लै विषय भएको स्मरण गराए ।
उनले भने,‘हामी सरकारमा छौं । नेपाली कांग्रेस सरकारमा छ, तर सत्ताको चाबी हामीसित छैन् । यसको अर्थ तपाईंहरु आँफै लगाउनुहोस ।सत्ताको चाबी वामपन्थीहरुसित छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी त खोल्नुपर्यो ? साथीहरुले भन्नुहुन्छ, तिमी किन यसरी बोलिरहन्छौं भनेर ? मैले भन्ने गरेको छु कि हाम्रो भोलिको प्रतिष्पर्धी एमाले हो । उसले गलत गरेको छ भने गलतलाई गलत भन्न सक्नुपर्छ । कांग्रेसले गलतलाई गलत भन्दैन भनेर त्यो नेपाली कांग्रेसको कार्यकर्ताहरु हुनै सक्दैन् । नेपाली कांग्रेसमा त्यो कमिकमजोरी भैरहेको छ । हामीहरु सत्तामा छैनौं, तर सरकारमा छौं ।’
सरकारमा भएकाहरुले सहकार्य गर्नुपर्ने र आफूहरुजस्तो बाहिर भएकाले गलतलाई गलत भन्न सक्नुपर्ने उनको तर्क छ । उनले नेपाललाई नेपालजस्तै बनाउनुपर्ने बताए । सरकार निर्मम हुन जरुरी रहेको उनले औंल्याए । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्रष्टाचार गर्दिनँ, र गर्नपनि दिन्नँ’ भन्ने वचनप्रति कोइरालाले आलोचना गरे ।
उनले भने,‘भ्रष्टाचार गर्दिनँ र गर्नपनि दिन्नँ भनेर हुँदैन् । यो देखिनुपर्यो । प्रतिशोधको भावना लिएर हुँदैन् । कसैलाई गर्ने अनि कसैलाई नगर्ने भन्ने हुँदैन् । यहाँ प्रतिशोधको भावना भइरहेको देखेको छु ।’ Photo Source: Dinesh Chandra Thapaliya/Facebook




प्रतिक्रिया