काठमाडौं, २४ जेठ । भ्रष्टाचारविरुद्धको सामाजिक अभियान जानकी गाउँपालिका कैलालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूहरुको उजुरीलाई कारबाही अगाडि बढाउन ढिलासुस्ती गरेको बताएको छ । अभियानका संयोजक कृष्ण सोडारीले आर्थिक वर्ष ०७४/०७५ देखि ०७७/०७८ सम्म जानकी गाउँपालिका वडा नं.९ मा सामाजिक सुरक्षा (सासु) भत्तामा भएको अनियमितताबारे २०७९ साउनमा अख्तियारको कञ्चनपुर कार्याललयमा उजुरी दिएको भएपनि आजको मितिसम्म पनि मुद्दा विशेष अदालतमा दायर नगरिएको बताएका हुन् ।
जानकी गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष खकेन्द्र भण्डारी र वडा सचिव प्रेम बुढाको सो अवधिमा सामाजिक सुरक्षाभत्ताको नाममा ८ करोड ९६ लाखभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।

आफूहरुले वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाविरुद्ध २०७९ साउनमा अख्तियारको शाखा कार्यालय कन्चनपुरमा उजुरी दिएकोमा सो उजुरी २०८१ जेठमा काठमाडौं स्थानान्तरण गरिएको संयोजक सोडारीले बताए । अख्तियारको केन्द्रीय कार्यालयले पनि सो उजुरीउपर छानविन भइरहेकोमात्रै जानकारी गराउँदै आएको र दोषीमाथि मुद्दा दायर गर्न ढिलासुस्ती भइरहेको उनको भनाइ छ ।
सो अवधिमा वडा अध्यक्ष भण्डारी र वडा सचिव बुढाले किर्ते गरी एउटै नागरिकता नम्बर राखेर नाममा फरक पारी दोहोरो, तेहोरो र चौथौं पटकसम्म भत्ता बुझेको, मृत्यु दर्ता नगरी मृतकको नाममा भत्ता बुझेको अभियानको आरोप छ ।
भ्रष्टाचारविरुद्धको सामाजिक अभियानका संयोजक सोडारीले सो मुद्दा यही आर्थिक वर्षभित्र विशेष अदालतमा दायर गर्न अख्तियारसँग माग गरे । ‘मुद्दा दर्ता हुने प्रक्रियामा नजाँदा हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुग्यौं । हाम्रो मुद्दा अलपत्र थियो । हामीले हाम्रो मुद्दा तुरुन्तर दायर गरिएन भने हामी अर्को विकल्पमा जान्छौं भनेका छौं । हामीसँग थुप्रै विकल्पहरु छन् । हामी आफैं प्रमाण बोकेर अदालतसम्म पुग्न सक्छौं । अख्तियारलाई भन्न चाहन्छु–कसैको आग्रह पूर्वाग्रह र प्रभावमा नपरीकन यो सामाजिक शुद्धीकरणको अभियानमा साथ दिनुस् । विशेष अदालतमा तत्काल मुद्दा दर्ता गरियोस्,’– उनले भने ।




प्रतिक्रिया