एमालेविरुद्ध डरलाग्दो ढंगले हमला हुँदैछः वरिष्ठ उपाध्यक्ष पोखरेल


काठमाडौं, २४ जेठ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोलेको कारण पार्टीको विरुद्धमा नियोजित रुपमा हमला भइरहेको बताएका छन् । आज (शनिबार) एमाले ओखलढुङ्गा लिखु–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दैै उनले नेपाललाई कमजोर बनाउन चाहने, नेपालको अस्तित्व लोप गर्न चाहने र नेपालको अखण्डतालाई कमजोर बनाउन चाहनेहरुले एमालेमाथि हमला गरिरहेको बताएका हुन् ।

उनले अहिले एमालेको विरुद्धमा डरलाग्दो ढङ्गले हमला केन्द्रीत भएको पनि बताए । केही मानिसहरुले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्ब र प्रतीकहरुको प्रयोग गरेर बोलेको कारण एमालेमाथि हमला भएको भनेर गलत निष्कर्ष निकालेको पनि उनले सुनाए । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिले नभएर राष्ट्रियताविरोधी शक्ति र तिनका मतियारहरुले एमालेमाथि हमला गरिरहेको उनको दाबी छ ।

‘एमालेको विरुद्धमा यस बेला जुन किसिमले डरलाग्दो ढंगबाट हमला केन्द्रीत हुँदैछ । एमालेको विरुद्धमा यसरी हमला किन केन्द्रीत भएको हो ? कोही–कोही साथीहरुले भन्छन्, ओलीजीले यताउता बोलिदिनुहुन्छ अनि विरोधी बढे । अनि हामी, भलाद्मीखालका कतिपय साथीहरुलाई हो, हो जस्तो लाग्छ । के त्यस्तो बोलेकै कारणले, फाट्टफुट्ट टिप्पणी गरेकै कारणले, उहाँले बिम्ब लगाएर बोलेको कारणले, उहाँले प्रतीकमा बोलेको कारणले यस्तोमात्रै भएको हो ? त्यस्तो होइन, म पूरा जिम्मेवारीको साथ भन्छु– एमालेमाथि हमला हुनुको पछाडिका केही कारणहरु छन् । पहिलो कारण के हो भने नेकपा (एमाले) राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी हो । जुन शक्तिहरुले, जुृन शक्तिका मतियारहरुले नेपाललाई कमजोर बनाउन चाहन्छन्, नेपालको अस्तित्व लोप गर्न चाहन्छन्, नेपालको अखण्डतालाई कमजोर बनाउन चाहन्छन्, ती शक्तिहरुले एमालेमाथि हमला गरिरहेका छन्,’– उनले भने ।