अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशन आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने


नेकपा (एमाले) निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

त्रिभुवन विश्वविद्यालय परिसरमा हुने महाधिवेशनले संगठनको नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने छ । नेतृत्वमा पहिलोपटक ३२ वर्षे उमेर हद लागू हुने छ ।

उमेर हद लागू हुने भएपछि नेतृत्वको दाबेदार मानिएका १५ जना पदाधिकारी प्रतिस्पर्धाबाट अलग हुनेछन् भने नेतृत्व गर्ने अवसर सचिव तहमा आउने छ । ११ जेठमा बसेको एमाले सचिवालय बैठकले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको जस्तै अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको थियो ।

यो निर्णयसँगै अध्यक्षका दाबेदार महासचिव नरेश शाही, उपाध्यक्षहरु रामचन्द्र घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी लगायत प्रतिस्पर्धाबाट बाहिरिनेछन् । यससँगै सचिव पदमा रहेकाहरु दीपक धामी, सुजन कडरिया, अञ्जना शिवाकोटी, आरती भट्टराई, प्रकाश पौडेल लगायत दाबेदार छन् ।