काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको सचिव पदमा दाबेदार लोकेन्द्र बहादुर शाहीले आफूलाई पन्छाईएको भन्दै आक्रोश पोखेका छन् । पार्टीभित्रको गुटगत चलखेलका कारण आफूजस्ता समर्पित क्रान्तिकारी युवालाई जिम्मेवारी नदिइएको उनको आरोप छ ।
हुम्लाका युवा नेता शाही १० वर्षे सशस्त्र जनयुद्धमा कम उमेरमै सहभागी भएका थिए। बाल्यकालमै बुवालाई गुमाएका उनले आमा बितेको तीन दिनमै भूमिगत जीवन सुरु गरेका थिए। उनी प्रचण्डलाई आदर्श मान्दै माओवादी आन्दोलनमा समर्पित बनेका थिए। शाही भन्छ्न्, “मैले जीवनको सबैभन्दा कठिन मोडहरू पार्टीका लागि समर्पण गरेर बिताएँ। तर अहिले मलाई ‘हेडक्वार्टरको मान्छे’ भनेर सचिव पदबाट पेलियो,” ।
जनयुद्धको क्रममा विभिन्न युद्ध मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका शाही शान्ति प्रक्रियापछि सेना समायोजनमा ‘अयोग्य लडाकु’ घोषणा गरिए। उनले अझै पनि अन्यायको संज्ञा दिन्छन्। शाहीले पछि कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको सचिवालयमा लामो समयसम्म काम गरेको अनूभव छ।
२०७९ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको टिकट पाए पनि अन्तिम समयमा पार्टीको निर्देशनमा गठबन्धनको पक्षमा उम्मेदवारी फिर्ता लिनु परेको थियो। अहिले पनि उनी स्थानीयस्तरमा राजनीतिक सेवा र संगठनात्मक सक्रियतामा अहोरात्र खटिएका छन् ।
वाईसीएलको केन्द्रीय सदस्य भइसकेका शाही सचिव पदको आकांक्षी उनलाई पार्टीभित्रका केही पूर्व नेताहरूको प्रभावले आफूजस्ता विचारशील र निष्ठावान युवालाई अवसरबाट पन्छ्याइएको महसुस ग्रेक्ँ छन् । उनले वाईसीएलमा प्रचण्डको भीजन बुझ्ने नेतृत्व चाहिएको बताए ।
शाहीले वाईसीएलको वर्तमान संरचना पार्टी विधानविपरीत बनेको आरोप लगाएका छन्। विधानमा ३५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान भए पनि हाल ७१ पदाधिकारी र ३५१ सदस्यीय समिति निर्माण गरिएको छ। उनले थपे,‘“यो अराजकता निम्त्याउने काम हो। केही पूर्व नेताहरू नेतृत्वलाई नै घेराबन्दीमा राख्न खोजिरहेका छन् । अहिले प्रतिक्रियावादी शक्तिहरू मौलाइरहेका छन्। यस्ता शक्तिहरूलाई परास्त गर्न संगठनमा हामीजस्ता सच्चा क्रान्तिकारी युवाको भूमिका अपरिहार्य छ। तर दुर्भाग्यवश, त्यस्ता युवालाई किनारा लगाउने प्रवृत्ति मौलाउँदैछ।’
पार्टी अध्यक्ष प्रचण्डप्रति आफ्नो विश्वास र समर्थन अझै पनि यथावत रहेको शाहीले बताए । उनले भने,‘प्रचण्डको भिजनमा हामी सधैं साथ रहनेछौं। हाम्रो समर्पण पदको लागि होइन, विचारको लागि हो ।’




प्रतिक्रिया