यो सरकारको काल आएको छ, माधव नेपालविरुद्ध प्रतिशोध साँधेर मुद्दा चलाईयो : मेटमणि चौधरी


काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहुञ्जेलसम्म कानूनको धज्जी उडाउने काम भैरहने आरोप लगाएका छन् । उनले भने,‘केपी ओली देशको प्रमुख भएपछि कुनै न कुनै कुराको उट्पट्याङ हुन्छ । कानूनको धज्जी उडाउने काम भयो । ओली सशक्त हुँदा मुलुकमा यस्ताखाले काम र क्रियाकलाप भैरहेका छन् । बेठिक काम र ओली पर्यावाची हो । बकम्फुसे कुरा गर्नु उनको चरित्र हो ।’

हिजोपनि ओली सरकारको नेतृत्वमा हुँदा कुनै उपाय नलागेपछि संसद् नै विघटन गरेको चौधरीले स्मरण गराए । उनले भने,‘प्रतिनिधिसभा विघटनसम्म गरेकै हुन् । ओलीको पालामा गलत काम भयो भनेर केसैले आश्चर्य मान्नुपर्दैन् । राम्रो काम भयो भने बरु आश्चर्य हुन्छ ।’

प्रधानमन्त्री ओलीले अहिले आफूभन्दा धेरै सिनियर नेता माधव नेपालविरुद्ध अख्तियारलाई प्रयोग गरेर भ्रष्टाचारको मुद्दा लगाएको चौधरीको आरोप छ । उनले भने,‘अख्तियारलाई जबरजस्ती माधव नेपालमाथि मुद्दा लगा लगा भनि भनि मुद्दा लगाउने काम गरिएको छ । म मात्रै कहाँ हो र ? माधव नेपालपनि मजस्तै हो भन्न पार्नको लागि गरेको छ । नेपाली मान्छेलाई नक्कली भुटानी बनाएर पैसा असुल गरेर अमेरिका पठाउने कुरा कसको पालामा भयो ? ओलीको पालामा भएको होईन र ? ओली प्रधानमन्त्री भएको बेलामा बादललाई संयोजक बनाएर यसको सुरुवात गरेको होईन । यो–यो विषयमा जो–जो थुनिएका छन्, उनीहरुको कुरा सुन्दा सबै थाहा हुन्छ ।’

उनले गिरिबन्धु प्रकरण पनि ओलीकै पालामा भएको स्मरण गराए । उनले भने,‘गिरिबन्धु टि–स्टेटको कुरा कसको पालामा सुरु भएको हो ? लेनादेनाको काम गरेर गिरिबन्धु टिस्टेटको कुरा व्यक्तिगतमा सट्टापट्टा काम पनि ओलीकै पालामा भएको छ । ओलीले मान्छेलाई साईकोलोजिकल डिमोरललाईज गरिरहेका छन् । मैले गृहसचिव बनाएको होईन, यो बनाएको होईन, त्यो बनाएको होईन भनेर मुद्दा लगाईइो । ओली आज अख्तियारको प्रवक्ता हुन् । प्रेम राई मुख्य मान्छे अनि प्रेम राईको प्रवक्ता ओली हो । हिजोदेखि ओली प्रवक्ता भएका छन् ।’

माधव नेपालमाथि जबरजस्ती मुद्दा चलाईएको उनको आरोप छ । उनले भने,‘एकीकृत समाजवादीका अध्यक्षलाई मुद्दा लगाउन सकियो भने यो पार्टी कोलाप्स हुन्छ भनेर सोचेको होला, सांसदहरु एमालेमा आउँछन र लार्जेष्ट पार्टी हुने सोचेको होला । केपी ओलीले उपसभामुखलाई हटाउनको लागि अनेकौं प्रयास गरे । ओलीपनि ५० वर्षसम्म ईगो राखिराख्ने व्यक्ति हुन् ।’

उनले माधव नेपालमाथि मुद्दा लगाउने कुरा राजनीतिक प्रतिशोध नै भएको ठोकुवा गरे । उनले भने,‘तर हामीलाई कुनैप्नि प्रकारको डर छैन् । अख्तियारको ऐन अनुसार नै छैन, संविधानको व्यवस्थाअनुसार पनि छैन् । हामी यसको डटेर सामना गर्छौं ।’ उनले जति दिन ओली सरकारमा बस्छन् उतिदिन बदनाम हुने भएकोले आफूहरुले सरकार तत्काल ढलोस भनेर नचाहेको स्पष्ट पारे ।

उनले अहिलेको सरकारको काल आएको टिप्पणी गरे । उनले भने,‘स्यालको काल आयो भने शहर पस्छ, नेताको काल आयो भने संसद् विघटन गर्छन् । यो सरकारको काल आएको छ । यसको अवसान र मृत्यु अत्यन्तै नराम्रोसँग हुन्छ । ओली आज उद्घाटन गर्न जाने हरेक कार्यक्रममा साना बच्चाहरुले ओली मुर्दावाद भनेर नारा लगाउँछन् । अख्तियार पनि निर्देशनमा चल्छौं र प्रयास गर्छ भने तिम्रो काम छैन् । तिमी ओलीको गोटी भयौ । ओलीले जे–जे भन्छन्, त्यही त्यही मान्छौं भने तिम्रो चेतना कस्तो छ भनेर नेपाली समाजले बुझेकै छो । हामी प्रतिवाद गर्छौं ।’

उनले अध्यक्ष पदबाट माधव नेपालले राजीनामा नदिने स्पष्ट पारे । उनले भने,‘माधव नेपाल अध्यक्ष भएरै ओलीको कुशासनको मुकाविला सशक्त रूपमा प्रतिरोध गर्छौं । ओलीले चिताएको कुरा पूरा हुन दिँदैनौं ।’