गृहमन्त्री लेखकजीले राजीनामा दिनुहुन्न, दिन मिल्दैन : कृष्ण सिटौला (भिडिओसहित)


काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखक आँफै बाँचिरहेकोले कसैले पनि बचाउन नपर्ने बताएका छन् । पत्रकार ऋषि धमलाले ‘गृहमन्त्री रमेश लेखकको पद बचाउनको लागि तपाईंहरुलाई महाभारत छ नि ?’ भनेर प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लागि राखेको प्रश्नमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘केही महाभारत छैन हामीलाई । कुनै मन्त्रालयको कुनै कर्मचारीलाई अख्तियारले अनुसन्धानको दायरामा ल्याउँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने भन्ने कुरा एकदमै गलत कुरा हो । यस्तो कुरामा प्रचण्डजी अडिनुहुन्छजस्तो मलाई लाग्दैन । एउटा झोंकमा बोल्नुभयो । मन्त्रीजीको राजीनामा आउँदैन् । उहाँले राजीनामा दिन मिल्दैन ।’

उनले प्रचण्डले गृहमन्त्रीको राजीनामा माग्नु गलत थियो भनेर रियलाईजेशन गर्ने र संसद् चल्ने दाबी गरे । उनले प्रचण्डलाई पनि संसद् चाहिएको बताए । उनले संसद् खुल्नेमा आफू आशावादी रहेको स्पष्ट पारे । अहिले कांग्रेस र माओवादी केन्द्रबीच नयाँ सहकार्य नहुने उनको दाबी छ ।