मन्त्री यादवको पहलमा १८ वर्ष देखिको जतुवावासीको खानेपानीको समस्या समाधान 


बिराटनगर (मोरङ), २८ जेठ : खानेपानीमन्त्री प्रदीप यादवको सक्रिय पहल र दूरदृष्टिपूर्ण पहलकदमीले मोरङको बिराटनगर–१४ स्थित १८ वर्ष पहिले देखिको जतुवावासीको खानेपानीको समस्या समाधान भएको छ ।

वर्षौदेखि खानेपानीको अभावमा समस्यामा परेका जतुवा क्षेत्रमा बसोबास गर्ने हजारौँ स्थानीयवासीहरुको खानेपानीको समस्या मन्त्री यादवको पहलमा अहिले आएर समाधानको दिशामा पुगेको छ ।

आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई नेपाल खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले १८ वर्ष देखिको जतुवावासीको खानेपानीको समस्या समाधान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब १८ वर्ष देखिको जतुवावासीको खानेपानीको समस्या समाधान भएको छ । मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन सधै कटिबद्ध छ ।”

कम्तीमा पनि १८ वर्षदेखिको प्रतीक्षा सकिएको उल्लेख गर्नु हुँदै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँले सुरक्षित खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको प्रमुख उद्देश्य र दायित्व रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसका लागि संघीय सरकार, उपभोक्ता समिति, स्थानीय तह र नागरिकबीचको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

सबैलाई “स्वच्छ पानी, समुन्नत जीवन” को यात्रामा ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गर्नु हुँदै उहाँले भन्नुभयो, “हामी सबैको समन्वय र सहभागिताबाट मात्र जनताको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउन सकिन्छ । हाम्रो उदेश्य भनेको जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु हो ।”

स्थानीय नेतृत्व, जनसहभागिता र दीर्घकालीन प्रतिबद्धताको सशक्त प्रतिफलस्वरूप, आज यो आयोजना औपचारिक रूपमा खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण भई नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको भन्दै मन्त्री यादवले खुशी समेत व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “यो आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन मन्त्रालय पूर्ण प्रतिबद्ध छ ।” 

यस आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले बताउनुभयो । 

उहाँका अनुसार अबदेखि बिराटनगर महानगरपालिका–१४ का बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवा नेपाल खानेपानी संस्थान, बिराटनगरमार्फत संस्थागत ढङ्गले उपलब्ध गराइनेछ, भने यहाँको जनजीवनमा समेत गुणस्तरीय सुधार ल्याउनेछ भन्ने अपेक्षा छ । 

यो आयोजनाको निर्माण तथा सञ्चलनका निम्ती जग्गा उपलब्ध गराउन लक्ष्मीनारायण मन्दिर संरक्षण समिति, जतुवाले बिसं २०६५ साल जेठ ६ गते निर्णय गरेको थियो । 

यो आयोजना बिराटनगर–१४ का बासिन्दाहरूका लागि मात्र सीमित नरही, छेउका वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका नागरिकहरूका लागि पनि गुणस्तरीय खानेपानी सेवा विस्तारको सम्भावना बोकेको महत्वपूर्ण पूर्वाधार भएको संस्थानले जनाएको छ ।