सत्तापक्ष र प्रतिपक्षहरुको अडानको कारण सदन अवरोध भयो, माओवादीको प्रस्तावले निकास दिन्छ : राजकिशोर यादव


काठमाडौं, २९ जेठ । जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा सांसद राजकिशोर यादवले सत्तापक्ष र प्रतिपक्षीहरुबीचको अडान र टकराबको कारण संसद् अवरोध जारी रहेको टिप्पणी गरेका छन् । आफूहरु सदन चल्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाई छ । आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने,‘सदन भनेको जनताको आवाज हो । अहिले त बजेटमाथि छलफल हुनुपर्ने हो । जनताका धेरै समस्या उठान गर्नुपर्ने हो । त्यसको लागि हामीले गर्नुपर्ने सकारात्मक पहलकदमी लिएका छौं । वस्तुनिष्ठ दृष्टिकोण राखेर हामीले सदन खोल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । मधेशी मोर्चाले त दुवै पक्षलाई जिम्मेवार भएर अघि बढ्नुहोस भन्ने कुरा हो ।’

भिजिट भिसा प्रकरणको कारण अवरुद्ध भएको सदन आज खुल्नसक्ने सम्भावना यादवले सुनाए । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले जिम्मेवारीपूर्वक सदन खुलाउन दुई बुँदे प्रस्ताव अघि सारेकोले यसले अहिलेको अवरोधलाई खुलाउनको लागि सहयोग पुर्याउने यादवको विश्वास छ ।