परराष्ट्रमन्त्री राणालाई प्रभु साहको प्रश्नः ‘राजदूतहरु अयोग्य हुन कि योजनाविहीन बनाइएको हो ?’


काठमाडौं, ३० जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु साहले राजदूतहरुले काम गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् । आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकलाई सम्बोधन गर्दै नेता साहले ‘राजदूतहरु अयोग्य हुन कि योजनाविहीन बनाइएको हो ?’ भनी परराष्ट्रमन्त्री डा.आरजु राणालाई प्रश्न गरेका हुन् । उनले सरकारले. नियुक्त गर्ने राजदूतको कार्य दक्षतामा प्रश्न उठाएका छन् । विभिन्न देशमा रहेका राजदूतले आफ्ना देशको मजदुरहरुको संरक्षण गर्न नसकेको भन्दै उनले आपत्ति जनाए ।

‘हाम्रा राजदूतहरु विभिन्न देशमा छन् । उनीहरु सुतेर बसेको जस्तो देखिन्छ । तिनीहरु अयोग्य हुन कि योजना छैन ? योजना छैन भने परराष्ट्र मन्त्रालयढ के हेरेर बसेको छ । योजना दिइएको छ भने राजदूतहरु किन काम गर्दैनन् ? कामको लागि दुतावास खोलिएको हो भने के काम केही पनि देखिँदैन । नेपाली कामदारको रक्षा र संरक्षण गर्न नसक्ने, ती राजदूतहरुलाई के भन्ने ? हामीले अयोग्य राजदूत छानेका छौं कि योजनाविहीन बनाएका छौं ?’ प्रश्न गर्दै उनजले भने ।

साथै, अहिले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको संख्या बढ्दै गएको पनि उनले बताए । तर, परराष्ट्र मन्त्रालयले कति नेपालीले नागरिकता त्यागेर विदेशी नागरिकता लिए भन्ने कुराको तथ्याङ्क नै नराखेको उनको दाबी छ । ‘जो नेपाली नागरिकता छाडेर विदेशी नागरिकता लिइराखेका छन्, त्यसको डाटा कहाँ पाउने ? कति मानिसहरुले विदेशी नागरिकता दिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयसँग हुनुपर्ने हो । नेपाली नागरिकता छोडिरहेको छ, विदेशी नागरिकता दिइरहेको छ । कसले लियो, कसले छाड्यो, त्यो पनि रेकर्ड हामीसँग छैन,’– उनले भने ।