सरकारले दण्डहीनतालाई बढवा दिइरहेको शेखरको आरोप, अख्तियारको भूमिकामाथि प्रश्न


काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारले दण्डहीनतालाई बढवा दिइरहेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ’ मात्रै भनेको, तर परिस्थिति भने त्यस्तो नरहेको बताएका हुन् ।

टेरामक्स प्रविधिमा भएको भ्रष्टाचार प्रकरणमा आफूनिकट नेता मोहन बस्नेतलाई मुद्दा चलाइएको विषयलक्षित गर्दै उनले अख्तियारले कसैलाई डामेको र सोही मुद्दामा कसैलाई छाडिदिएको बताए । उनले अहिले देशमा सुशासन पटक्कै नरहेको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीले भन्नुहुन्छ– म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । बोलेर हुँदैन, कोही सुन्नेवाला छैन । कोही–कोही एक जनाले सुन्दैनन् । विश्वास नै गर्दैनन् । निर्मम तरिकाले हामीहरुले भ्रष्टाचारको अन्त्य गर्न सुरु गर्नुपर्यो नि । अख्तियारले कसैलाई डाम्छ, त्यही केसमा अरुहरुलाई छोड्दिएको छ । त्यसले दण्डहीनतालाई बढवा दिइराखेको देखियो । यसरी अब देश चल्दैन । सुशासन पटक्कै छैन,’– उनले भने ।

साथै, मासिक रुपमा १ खर्ब ५० अर्ब रुपैयाँ रेमिट्यान्स आउने उनले सुनाए । रेमिट्यान्समा पनि इलिगल मनी आइरहेको छ कि भन्ने कुरा सोच्न आवश्यक रहेको उनले बताए । आफूले यस विषयमा राष्ट्र बैंकसँग पनि बुझिरहेको उनले बताए ।

उनले अहिले देश निकै अप्ठ्यारो परिस्थितिमा रहेपनि निराश हुनुपर्ने कारण नरहेको बताए । उनले गर्न सकिन्छ भन्ने आँट आफूमा रहेको पनि बताए । ‘देश एकदमै अप्ठ्यारो परिस्थितिमा छ । तर, निराश हुनुपर्ने अवस्था छैन । हामी सक्छौं, हामी गर्छौं भन्ने आँट मलाई छ,’– उनले भने ।