काठमाडौँ, ३० जेठ । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्ने बताएका छन् ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटन : हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष लम्सालले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिरहेको जस्ता जलवायुजन्य सङ्कटको उजार गर्दै समस्याको समाधानका लागि पहल गर्नसमेत सहयोग गर्ने विश्वास व्याक्त गरे ।
“यसप्रकारको तस्बिर प्रदर्शनी जसले पायो उसले र जहिले प¥यो उहिले गर्न सक्दैन । प्रदर्शनीमा हिमालका पुरानो फोटादेखि नयाँ फोटोहरु देखिन्छ । जहाँ हिमालमा जलवायु परिवर्तनले देखाएको असर देखाउँछ”, उनले भने, “नेपालले भर्खरै सगरमाथा संवाद सकेको छ । जहाँ जलवायु सङ्कटका बारेमा छलफल भई एउटा निष्कर्षमा पुग्यो । यसमा भएको पैरवी र अब भविष्यमा के गर्न सकिन्छ भन्ने कुरा तस्बिरले महत्व राख्छ ।”
लम्सालले नेपालको पर्वतीय क्षेत्रमा गुम्ने स्थानमा प्रचारप्रसार गर्दै मुलुकको आर्थिक विकासमा सहयोग गर्ने बताए । प्रदर्शनमा राखिएको तस्बिरले मुलुकमा पर्वतीय पर्यटनको विकासको सम्भावना प्रष्ट्याउने उनको भनाइ छ ।
यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।




प्रतिक्रिया