बाबुरामले देशलाई २५ वर्षभित्र विकसित मुलुकमा रुपान्तरण गर्ने


काठमाडौं, ३० जेठ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँशक्ति) ले नेपालको राजनीति, सुशासन र समृद्धिसँग जोडिएका गम्भीर सवालहरु समकालीन पुरानो राजनीतिबाट हल हुन नसक्ने निष्कर्ष निकालेको छ । आज (शुक्रबार) नेसपा (नयाँ शक्ति) को १०औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रमको दस्तावेजमा समकालीन पुरानो राजनीतिबाट वर्तमान समस्याको समाधान हुने समय निकै घर्किसकेको उल्लेख छ

अब राजनीतिक पुर्नंरचना, विचारको पुनर्संश्लेषणसहित लोकतन्त्रको समृद्धीकरण गर्न, सुशासन र सदाचारको प्रत्याभूति सहित आर्थिक विकास तथा समृद्धिको वैकल्पिक मार्ग चित्रको कार्यान्वयन गर्न सुविचारित नयाँ वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता अपरिहार्य रहेको नेसपा (नयाँशक्ति) का दृष्टिकोण छ । यसो हुन सकेको खण्डमा नेपालको समृद्धिकालागि दूरदृष्टियुक्त नेतृत्व र स्थीर
सरकारको अगुवाइमा महत्वपूर्ण संरचनात्मक परिवर्तन र आर्थिक समृद्धिको वस्तुपरक मार्गचित्र र ५ वर्ष, १० वर्ष र २५ वर्षको योजनाबनाएर कडाइपूर्वक कार्यान्वयन गर्न सकिने बताइएको छ ।

वैकल्पिक राजनीतिको दिशाबोध र दूरदृष्टियुक्त स्थिर सरकारको नेतृत्वमा नेपाललाई १० वर्षभित्र मध्यम आय भएको (४५०० डलर) मुलुकमा र २५ वर्षभित्र विकसित (१४००० डलर) मुलुकमा रुपान्तरण गर्न सकिने कार्यपत्रमा उल्लेख छ । त्यसका निम्ति नयाँ उदीयमान वैकल्पिक शक्तिहरु वीच सहकार्य, धु्रवीकरण गरेर देशमा भरपर्दो अग्रगामी राजनीतिक विकल्प यथाशीघ्र तयार गर्नुपर्ने उल्लेख छ ।