काठमाडौं, ३१ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार जतिधेरै रहन्छ, त्यतिधेरै मुलुकले दूर्दशा भोग्नुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘जतिबेरसम्म जाला, मुलुकको दुर्दशा नै गर्ला ।’
‘कांग्रेस–एमाले गठबन्धन सरकारले राजनीतिक स्थायित्व दिन सक्दैन ? संविधान संशोधन गर्न सक्दैन ?’ भन्ने प्रश्नमा उनले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिएर संविधान संशोधनको काम अगाडि बढाउन नसकेको ठोकुवा गरे । उनले भने, ‘सक्दैन । सकेको भए त गर्थ्यो नि । एक वर्ष हुन लागिसक्यो । के गर्न सकेको छ र ?’
नेता यादवले यस्तै नैराश्यता कायम रहने हो भने कांग्रेस–एमाले गठबन्धनको विकल्प खोज्ने दिन पनि आउने बताए । संसारमा हरेक चिजको विकल्प भएजस्तै कांग्रेस–एमाले गठबन्धनको पनि विकल्प रहेको उनको जिकिर छ । ‘दुनियाँमा निर्विकल्प भन्ने केही पनि छैन । दुनियाँ विकल्पहीन हुँदै हुँदैन । सबैको विकल्प हुन्छ । समय आएपछि विकल्प देखिन्छ । एक जमाना थियो राजतन्त्रको विकल्प छैन भन्थे । भन्नेहरु नै सकिए । आज विकल्प छैन भने भोलि हुन्छ,’– उनले भने ।




प्रतिक्रिया