तस्करी र भ्रष्टाचारजन्य गतिविधिविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुनुपर्छः एमाले नेता गैरे (भिडिओसहित)


काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले तस्करी र भ्रष्टाचार लज्जाको विषय बन्दै गएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचार र तस्करीको विरुद्धमा सरकार कठोर रुपमा प्रस्तुत हुनुपर्ने बताएका हुन् । ‘तस्करी, भ्रष्टाचारजस्ता विषयहरु एक प्रकारले लज्जाको विषय बन्दै गइरहेको छ । यसमा चाहीँ सरकार कठोर रुपमा प्रस्तुत हुनपर्ने, सरकारले यसलाई न्यूनीकरण गर्नका लागि जबरजस्त रुपले प्रस्तुत हुनुपर्ने आवस्यकता छ,’– उनले भने ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता विषयमा अझ महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । भ्रष्टाचारको सन्दर्भमा निष्पक्ष छानविन गरी न्याय निरुपण गरिनुपर्ने उनले बताए । बदनियतपूर्ण तरिकाले फैसला हुने गरेको घटना पनि आफूहरुले सुनिरहेको बताउँदै उनले निष्पक्ष रुपमा छानविन र न्याय निरुपण होस् भन्ने आफूहरुको चाहना रहेको उनले बताए ।

नेता गैरेले एमाले र कांग्रेसका सहकार्य २०८४ को चुनावसम्म लगातार जाने दाबी गरे । कांग्रेस–एमाले गठबन्धनबारे अरु धेरै सोच्न आवश्यक नरहेको उनको दाबी छ । वर्तमान सरकारप्रति जनताको धेरै प्रश्न रहेको र आफूहरुले संसद्को माध्यममार्फत जनताका प्रश्नहरु सरकारसमक्ष पुर्याउने उनले बताए । ‘जनताका धेरै प्रश्नहरु छ । हामी संसदमा जीवन्त छलफल गर्न चाहन्छौं,’– उनले भने ।