मैले जनार्दनलाई पार्टी छोड भनेकै छैनः प्रचण्ड


काठमाडौं, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) मा यतिबेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको शक्ति संघर्ष सतहमै आएको प्रष्ट देखिन्छ । पार्टीनिकट विद्यार्थी संगठनको निर्वाचन, सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको निर्वाचनलगायतमा हेडक्वाटर (एचक्यू) टिम र जनार्दन टिम प्रष्ट रुपमा विभाजित भएको थियो । विद्यार्थी संगठन अन्ततः निर्वाचनमा होमियो ।

विद्यार्थी संगठनमा अध्यक्ष एचक्यू टिमबाट निर्वाचित भए पनि बहुमत संख्या जनार्दन टिमको रहेकाले आशातित् काम हुन नसकिरहेको बताइन्छ । त्यस्तै, वाईसीएलको निर्वाचनमा भने जनार्दनले हाकाहाकी महासचिव मागेको चर्चा चलेको थियो । यसरी प्रष्ट रुपमा माओवादी दुई धारमा अगाडि बढिरहेको अवस्थामा जनार्दनले प्रचण्डले आफूलाई पटक–पटक पार्टी छोड भनेको कुरा खुलासा गरे ।

प्रचण्ड र जनार्दनबीचमा लामो समयदेखि टकराब रहेको कुरा लुकेको छैन । प्रचण्डले पार्टी नै छाड्न बेला–बेलामा दवाब दिएको कुरा जनार्दनले बताएपछि माओवादी बृत्तमा तरङ्ग पैदा भएको छ । प्रचण्ड स्वयं भने आफूले जनार्दनलाई पार्टी छोड नभनेको बताउँछन् ।
आज (शनिबार) विराटनर विमानस्थलमा सञ्चारकर्मीहरुले ‘जनार्दन शर्मालाई पार्टी छोड चाहिँ किन भनेको ?’ भन्ने प्रश्नमा उनले आफूले त्यसो नभनेको बताए । ‘भनेकै छैन, त्यो बेकारको कुरा हो । तपाईँहरुले पत्याउनुभयो भने गल्ती गर्नुभयो ।’