आजबाट बंगलादेशमा विद्युत निर्यात सुरु, दैनिक ४० मेगावाट निर्यात गरिने


काठमाडौं, १ असार । नेपाल विद्युत प्राधिकरणले आजदेखि बंगलादेशमा विद्युत व्यापार सुरु गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काका अनुसार आजबाट ५ महिनाका लागि दैनिक ४० मेगावाट विद्युत भारतको ग्रिड प्रयोग गरेर बंगलादेश निर्यात सुरु गरिएको हो ।

‘भारतको ग्रिड प्रयोग गरेर बंगलादेशमा आजबाट यस वर्ष ५ महिनाको लागि ४० मेगावाट विद्युत निर्यात गरिराखेका छौं । यो यस क्षेत्रमा लाग्ने तमाम व्यवसायीहरुको लागि पनि खुसीको कुरा हो । समृद्धिको लागि पनि खुसीको कुरा हो । यसरी छिमेकी देशहरुमा हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउन सक्ने प्रमुख क्षेत्र भनेको विद्युत भएकाले यो खुसीको खबर यहाँहरुमाझ बाँड्न पाउँदा खुसी भएको छु,’– उनले भने ।

आगामी ५ महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत बंगलादेश निर्यात हुने बताइएको छ । यसबाट करिब ९४ लाख अमेरिकी डलर (नेपाली एक अर्ब २९ करोड) बार्षिक रुपमा प्राधिकरणले प्राप्त गर्नेछ । File Photo/RN