काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रतिनिधिसभा सदस्य शिव नेपालीले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भिजिट भिसासँग जोडिएको मानव तस्करीको जालो तोड्न पनि गृहमन्त्रीबाट लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका हुन् ।
‘संसद् किन अवरोध भइराखेको छ भन्ने त विगत १७÷१८ दिनदेखि जगजाहेर नै कुरा हो । मानव तस्करजस्तो विषय भिजिट भिसासँग जोडिएको छ । यसको जालो तोड्नुपर्छ भनेर हामी संसद् अवरोधमा छौं,’ उनले भने, ‘रास्वपा नैतिकताको राजनीति गर्छ । यहाँ मैले व्यक्ति विशेषको कुरा गरिराखेको छैन । रमेश लेखक अहिले गृहमन्त्री हुनुहुन्छ । उहाँमाथि नैतिकताको प्रश्न उठेको कारणले यो विषय आएको हो ।’
साथै, उनले रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणमा गृहमन्त्री लेखकले त्यतिबेला बोलेको कुरा स्मरण गर्न पनि उनले बताए । ‘राजीनामा दिनुपर्छ पर्दैन भनेर, हिजो हामी १२० दिन सरकारमा थियौं । हाम्रो पार्टी सभापतिको बारेमा उहाँ आफैंले बोलेको कुरा हो । यदि कुनै मन्त्रीमाथि प्रश्न उठेको खण्डमा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेको कुराले उहाँ आफैंलाई भन्नुभएको छ । यो जालो तोड्न जरुरी छ । यसमा रमेश लेखकले भूमिका खेल्नुपर्छ,’– उनले भने ।
फरक प्रसंगमा उनले रास्वपाको सभापतिबाट रवि लामिछाने हट्नु नपर्ने बताए । लामिछाने पार्टी सभापति हुन हुँदैन भनेर कुनै पनि कानुनले नभनेको उनको दाबी छ । तर, सांसद पद निलम्बनसँगै संसदीय दलको नेता चाहिँ नरहने उनले बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेतृत्व कसले गर्ने भनेर सिकाउन पर्दैन । जनताले आशा गरेका छन् । हामीलाई हाम्रो सभापतिप्रति गर्व छ । कुनै पार्टीले सिकाउन पर्र्दैैन रास्वपाको सभापतिबाट रवि लामिछानेलाई हटाउनुपर्छ भनेर । अहिले उहाँ सांसद् पदबाट मात्रै निलम्बित हो । उहाँ निलम्बित भइसकेपछि दलको नेता हुनुहुन्न । संसदीय अभ्यासले उहाँलाई दलको नेता हुन दिँदैन । तर, पार्टी सभापति हुन कुनै पनि कानुले रोक्दैन,’– उनले भने ।




प्रतिक्रिया