काठमाडौं, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् । प्रमुख सचेतक सन्तोष परियारसहित सभामुखको सरकारी निवास बालुवाटार पुगेका अर्यालले सभामुखले सदनमा आफूहरुलाई किन बोल्न नदिएको भन्ने विषयमा गुनासो पोखेका थिए ।
भिजिट भिसा प्रकरणमा रास्वपाले सदन अवरोध गरिरहेको छ । आज सदन बस्नुअघि रास्वपाका नेताहरु सभामुख घिमिरेलाई भेट्न बालुवाटार पुगेका हुन् । रास्वपा र राप्रपाको अवरोध र वेल घेराउबीचमा सभामुख घिमिरेले बजेटमाथिको छलफललाई अघि बढाएका छन् । अर्यालले सरकारले आफूहरुलाई पेलेपनि सभामुखले पनि विभेद गरेको आशयमा कुरा राखेका थिए ।
सभामुख घिमिरेले भने आफ्नो संवैधानिक सिमा बुझिदिन आग्रह गरेका छन् । उनले आफूले सदनको अवरोध हटाउनको लागि नै अधिकतम लचकता प्रस्तत गरेको र दुई सातासम्म सदन रोकेको सुनाएका थिए । बजेट पारित गर्ने बाध्यता रहेको सुनाउँदै सभामुख घिमिरेले सरकारसँग सम्वाद गरेर अघि बढ्न रास्वपालाई सुझाएका छन् ।
बरु, सरकारसँग वार्ता तथा सम्वादको लागि आफूले सहजीकरण गरिदिने सभामुखको भनाई रहेको उनका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए । बालुवाटारमा भएको एक घण्टा लामो छलफलमा अर्यालले आफूहरुले उठाएको मुद्दाबाट ब्याक हुनसक्ने अवस्था नभएकोले सदनको अवरोध जारी रहने स्पष्ट पारेका थिए । file photo




प्रतिक्रिया