त्रिवेणी (नवलपरासी), २ असार । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
११औँ चुरे संरक्षण दिवसका अवसरमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित वृक्षरोपणका अवसरमा राष्ट्रपति पौडेलले नीतिगत तथा कानुनी व्यवस्थाको सुधार, चुरे संरक्षणको कार्यान्वयनको हालको अनुभवलाई ध्यान दिँदै थप प्रभावकारी रुपमा चुरे संरक्षणको काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
मानवीय क्रियाकलापहरूले चुरे क्षेत्रका प्राकृतिक स्रोतहरूकोे क्षयीकरण भइरहेको उल्लेख गर्दै उनले यस क्षेत्रका प्राकृतिक स्रोतहरूको संरक्षण र सदुपयोग गरी, चुरे क्षेत्रको अवस्था सुधार गर्दै चुरे क्षेत्रमा भइरहेको वा हुनसक्ने सम्भावित क्षयीकरणलाई न्यूनीकरणका लागि लाग्नुपर्ने बताए ।
चुरे क्षेत्रको दिगो संरक्षण तथा व्यवस्थापन गर्न नेपाल सरकारले राष्ट्रपति चुरे–तराइ मधेस संरक्षण विकास समितिको गठन गरेको स्मरण गर्दै राष्ट्रपति पौडेलले चुरे क्षेत्र जैविक विविधतामा धनी, दुर्लभ वन्यजन्तुहरूको बासस्थान र जैविक मार्ग भएकाले पारिस्थितिकीय प्रणाली संरक्षण तथा सन्तुलनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति र नेपाली सेना, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको आयोजनामा साथै वन तथा पर्यावरण गण हात्तीखोर कावासोतीको समन्वयमा नवलपुरको कावासोती–३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनमा वृक्षरोपण गरिएको हो ।
यहाँ रहेको छ हेक्टर क्षेत्रफलमा हर्रो, वर्रो, अमला, वर, पिपल, बाँसलगायत गरी १० हजार बिरुवा रोपिने छ । सरकारले विसं २०७१ असार २ गते राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति गठन गरेर चुरे संरक्षण योजनालाई अगाडि बढाएपछि प्रत्येक वर्ष असार २ गते चुरे संरक्षण दिवस मनाइँदै आएको छ । रासस




प्रतिक्रिया