प्रचण्डले जनार्दनलाई पार्टी छोड भनेर ठ्याक्कै भनेको मलाई जानकारी छैन : अनिल शर्मा (भिडिओसहित)


काठमाडौं, २ असार । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अनिल शर्माले पार्टीभित्र आफूहरुले गरेको बहसले पार्टीलाई समृद्ध बनाउने विश्वास व्यक्त गरेका छन् । पार्टीप्रति अहिले जनतामा जागेको विश्वासलाई संगठनात्मक ढाँचामा रुपान्तरण गर्नको लागि आफूहरुले आवाज उठाएका शर्माको स्पष्टोक्ति छ ।

आज (सोमबार) विहान प्राइम टिभीबाट प्रसारण भएको ‘प्राईम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा शर्माले पार्टीले लिएको लक्ष्य हाँसिल गर्नको लागि पनि समय सान्दर्भिक रुपान्तरण हुनुपर्नेमा जोड दिए । शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मालाई पार्टी छोडेर जाउ भनेको कुरा आफूलाई जानकारी नभएको स्पष्ट पारे । उनले भने,‘होईन, यसमा ठ्याक्कै त्यसरी भनेको भन्ने कुरा त मलाई त्यसरी जानकारी छैन । तर, सामान्य कुरा तपाईंलाई बताईदिन्छु, पार्टीको हाम्रो महाधिवेशनदेखि छलफल चल्यो । त्यस महाधिवेशनमा छलफल र बहस चल्दै गर्दा पार्टीलाई विधिमा लैजानुपर्छ भनियो । भद्रगोलतामा गयो भनेर चर्चा भयो । हाम्रो पार्टीमा मूल समस्या भनेको संगठनात्मक रुपमा प्रकट भयो । अहिले संगठनात्मक समस्या हल गर्न सकियो भने राम्रो हुन्छ भनियो । लोकतान्त्रिक विधिमा जाउँ भनियो । अहिले युवा पुस्तामा मुख्य नेताहरुमाथि वितृष्णा छ ।’

महाधिवेशनको हलमा विशेष महाधिवेशनको कुरा पनि गरिएको उनले स्मरण गराए । उनले संगठनलाई विधिमा लैजानको लागि विधान सम्मेलन गरिएको र त्यसमा प्रत्यक्ष नेतृत्व चयन गरौं भन्ने म्याण्डेट लिईएको सुनाए । संगठनात्मक चुस्त बनाउँदा राम्रो हुन्छ भन्ने सुझाव लिएर माओवादी अघि बढेको शर्माले सुनाए ।