अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार होः माआवादी नेता श्रेष्ठ


काठमाडौं, २ असार । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिगामी शक्तिहरुले लोकतन्त्र र पाप्त उपलब्धीमाथि आक्रमण गरिराखेको बताएका छन् । काठमाडौंमा आयोजित पार्टीका कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगामी शक्तिहरुले मुलुकलाई पछाडि फर्काउने दुष्प्रयास गरिरहेको बताए । उनले प्रतिगामी शक्तिहरुलाई परास्त गर्न र उपलब्धीहरुको रक्षा गर्न माओवादी लागिरहेको पनि उनले बताए ।

‘प्रतिगामी शक्तिहरुले फेरि एक पटक लोकतन्त्र, उपलब्धी र ऐतिहासिक युगान्तकारी परिवर्तमाथि आक्रमण गरिराखेका छन् । पछाडि फर्काउने दुष्साहस गरिराखेका छन् । हामीले प्रतिगमनका सबै खतरालाई र प्रतिगमनलाई परास्त गर्दै यो उपलब्धीको रक्षा गर्नुपर्छ । हाम्रो संविधान र लोकतन्त्रलाई बचाउँदै यसलाई अझ उन्नत र परिमार्जन गर्नुपर्ने हुन्छ,’– उनले भने ।

साथै, उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई पूरा गर्ने वातावरण निर्माणका लागि दवाव दिन आवश्यक रहेको उनले बताए । नेता श्रेष्ठले माओवादीको तर्फबाट दवाबमुलक भूमिकाको आवस्यकता रहेको र त्यसो गरी पनि रहेको बताए । उनले शान्ति प्रक्रियाको कार्यभारअन्तर्गत सेना समायोजन, राजनीतिक कार्यभार पूरा भए पनि अब संक्रमणकालीन न्यायको कार्यभार पूरा गर्न बाँकी नै रहेको उनले बताए ।

‘हामीले शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्नुछ । तपाईँ हामी सबैलाई थाहा छ, शान्ति प्रक्रियाको दुईवटा मुख्य कार्यभार हामीले पूरा गर्यौं । राजनीतिक कार्यभार र जनमुक्ति सेना र नेपाली सेनाको समायोजनको काम सक्यौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित काम अब बाँकी रहेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगको काम र बेपत्ता आयोगको कामलाई पूरा गरेर द्वन्द्व पीडितलाई न्याय प्रदान गर्दै समग्रमा शान्ति प्रक्रियालाई पूरा गर्नुछ । दीगो शान्ति स्थापना गर्नुछ । त्यो काम अल्मलिएको छ । त्यसलाई रोक्ने र अवरोध उत्पन्न गर्ने काम भइरहेको छ,’– उनले भने ।

नेता श्रेष्ठले राजनीतिक परिवर्तनसँग जनताको जीवनमा परिवर्तन ल्याउनुपर्ने आवस्यकता रहेको बताए । आजको मुख्य कार्यभार पूरा गर्न आफूहरु .सकारात्मक रुपमा लागिरहेको उनले बताए । नेताले जनताको जीवनमा गुणात्मक परिवर्तन हुन नसकेको कुरा सत्य रहेको बताए । ‘आजको राष्ट्रको प्रमुख कार्यभार सामाजिक–आर्थिक रुपान्तरण र विकासको कार्यभार हो । यत्रो युगान्तकारी परिवर्तन जो हामीले गर्यौं, यो राजनीतिक परिवर्तनलाई माध्यम र साधान बनाएर यो राजनीतिक अधिकारका अतिरिक्त जनताको जीवनमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ,’– उनले भने ।

नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्ट र निरङ्कुश सरकारको संज्ञा दिए । ‘अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार हो । जसले देशमा सामाजिक आर्थिक आवस्यकता, विकास र समृद्धिको आवश्यकता पूरा गर्ने त कुरै छोडौं, देशलाई संकटको दिशातिर धकेल्दैछ । यसैको जगमा टेकेर, यसले गरेका गलत क्रियाकलापको जगमा टेकेर जनतामा असन्तुष्टि र निराशा बढेको छ,’– उनले भने ।