विकल पौडेलविरुद्ध अख्तियार सर्वोच्चमा


काठमाडौं, २ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकल पौडेलसमेत रहेको भ्रष्टाचार मुद्दाको पुनरावेदन लिएर सर्वोच्च अदालतमा पुगेको छ । विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेपछि आयोग सर्वोच्च गएको हो । सो मुद्दामा पौडेलसहित नविन कुमार पोखरेल, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, राम बहादुर बुढा र शिरीष उपाध्याय पनि प्रतिवादी रहेका छन् ।

पौडेललगायतले सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटिज प्रिण्टिङ प्रेस खरिद कार्यमा अस्वभाविक लागत अनुमान तयार गरेको, गुणस्तरहीन ट्रान्सफर्मर खरिद÷आपूर्ति, सम्झौताको शर्तविपरीेत अन्य मुलुकको सामान स्वीकार गरेको, कामै नगरी काम भए सरह भुक्तानी गर्ने कार्य गरेको र वास्तविक रुपमा आवश्यक नभएको र औचित्य पुष्टि नहुने समान खरिद गरेको अख्तियारको आरोप छ ।

अख्तियारले पौडेलको हकमा ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४ बिगो मागदाबी हरेको छ । त्यस्तै, नविन कुमार पोखरेलको हकमा ४९ करोड, ४६ लाख ३५ हजार नौ सय ५, रमेश पोखरेलको हकमा २० करोड ३८ लाख ९३ हजार ८ सय २७, मनिक मान महर्जनको हकमा ३ करोड ४४ लाख ६८ हजार ७ सय २९, राम बहादुर बुढाको हकमा बिगो १९ करोड, ८८ लाख ९४ हजार २ सय ८९ र शिरीष उपाध्यायको हकमा ४० करोड १ लाख, ३९ हजार ७ सय ३६ रुपैयाँ विगो माग दाबी रहेको छ ।